• ३ असार २०८२, मङ्गलबार

जमिनमुनिको पानी तान्न दोहोरो अनुदान

blog

वीरेन्द्रनगर नगरपालिका–१०, मनिकापुर टोलमा ‘डिप बोरिङ’ उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, असार ३ गते । सुर्खेतको वीरेन्द्रनगरमा जनसङ्ख्या वृद्धिदर तीव्र भइरहेको छ । प्रदेशको राजधानी भएकाले पनि १० वटै जिल्लाबाट आएकाहरूको बसोबास वीरेन्द्रनगरमा हुँदै आएको छ । बढ्दो जनसङ्ख्यालाई धान्ने खानेपानीको पर्याप्त स्रोत नहुँदा माग अनुसारको आपूर्ति हुन सकेको छैन ।

एकातिर बढ्दो जनसङ्ख्या र अर्कातिर मुहानको स्रोत पानी घट्दा खानेपानीको सङ्कट बढ्दो क्रममा देखिएको हो । अहिले वीरेन्द्रनगरमा भएको खानेपानीको हाहाकारको स्थितिलाई ‘डिप बोरिङ’ ले धानिरहेको छ । बोरिङ निर्माणका लागि कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले अनुदान दिने गरेका छन् ।

समुदायको मागका आधारमा ‘डिप बोरिङ’ निर्माणका लागि अनुदान दिने गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । प्रदेश सरकार र नगरपालिकाको संयुक्त बजेटबाट अनुदान दिने गरिएको छ । 

प्रतिबोरिङ १० देखि १५ लाख रुपियाँका दरले वितरण गर्ने गरिएको उहाँको भनाइ छ । नीति निर्माण गरेर ‘डिप बोरिङ’ निर्माण भइरहेको नगरपालिकाका इन्जिनियर हरि केसीले बताउनुभयो । उहाँका अनुसार भूमिगत स्रोतको पानी निकाल्न तथा उपभोग गर्न अनुमतिपत्र जारी गर्ने निर्देशिका–२०७६ समेत निर्माण गरिएको छ । निर्देशिकाबमोजिम माटो परीक्षण गर्नुपर्ने, जग्गाको मन्जुरी हुनुपर्ने, समिति गठन, वडाको सिफारिस, नापीको नक्सा अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकार र नगरपालिकाले बोरिङ निर्माणका लागि मागका आधारमा अनुदान दिने गरेका छन् । नगरपालिकाबाट अनुमति लिएर मात्र बोरिङ निर्माण गर्ने गरिएको छ । 

हालसम्म १३६ वटा बोरिङ निर्माणका लागि नगरपालिकाबाट अनुमति दिइएको नगरपालिकाका खानेपानी शाखाका इन्जिनियर मायाराम शर्माले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा ६१ वटा बोरिङ निर्माणका लागि अनुमति दिइएको थियो । त्यसपछि आव २०७८/७९ मा तीन, आव २०७९/० मा २४, आव २०८०/८१ मा २२ र चालु आव २०८१/०८२ मा २६ वटा बोरिङ निर्माणका लागि अनुमति प्रदान गरिएको छ । प्रदेश सरकार र नगरपालिकाले अनुदानका लागि बर्सेनि बजेट विनियोजन गर्ने गरेका छन् ।

अनुदान पाएर बोरिङ निर्माण गर्ने क्रम बढे पनि नगरपालिकाका सबै वडामा बोरिङको सम्भावना देखिएको छैन । वीरेन्द्रनगरका केही वडामा मात्र बोरिङ निर्माण गरेर पर्याप्त पानी आएको छ । वडा नं. २, ३, ७, ९ र १० मा बोरिङमा पानी पर्याप्त आउँछ । वडा नं. १ मा खानेपानीको सङ्कट ज्यादा हुने गरेको छ । इनार तथा बोरिङ खन्दासमेत पानी नआउने समस्या देखिएको छ । 

वीरेन्द्रनगरको माथिल्लो क्षेत्रमा सुक्खा भएका कारण खानेपानीको सङ्कट देखिएको हो । मुहानमा पानी घटेपछि वीरेन्द्रनगर उपत्यकामा अहिले ४८ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका प्रमुख डम्मर गौतमले मुहानमा ४० प्रतिशत पानी घटेको बताउनुभयो । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।