• २ असार २०८२, सोमबार

मुन्धुमी विधिअनुरुप मुक्कुमलुङमा वृक्षरोपण

blog

रुख काटिएको ठाउँमा वृक्षरोपण गर्दै स्थानीयबासी ।

गोरखापत्र अनलाइन

ताप्लेजुङ, असार २ गते । जैविक विविधता, पर्यावरण र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसाथ ताप्लेजुङको मुक्कुलुङ क्षेत्रमा मुन्धुमी बिधिअनुसार वृक्षरोपण गरिएको छ । मुन्धुमी संस्कारअनुसार प्रकृति र प्रकृतिकी देवी ताम्भुङनासँग फेदाङमाले नागरिकको तर्फबाट माफ मागेपछि मात्र जमिन खनेर विरुवा रोप्ने परम्परा छ । 

बृक्षरोपणमा पूर्वी नेपालको नौ जिल्लाका प्रकृति प्रेमीहरुले केवलकार निर्माणका लागि रुख काटेको स्थानमा करिब ६ हजार विरुवा रोपेको मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिको संयोजक लिङखिमलेले जानकारी दिनुभयो ।  

मुक्कुमलुङ क्षेत्रमा पाथिभरा केवलकार दर्शन प्रालिले केवलकार निर्माणका निम्ति करिव ५० हजार जति रुख काटिसकेको छ । मुक्कुमलुङ क्षेत्रमा केवलकार निर्माणले आदिवासी जनजाति लिम्बु समुदाय, हिन्दु र बौद्ध धर्मालम्बीहरुको आस्थामा आघात पुगेको स्थानीयको गुनासो छ ।

मुक्कुलुङको वन क्षेत्र सुख्खा र चिसो मौसमका कारण विरुवा वाच्ने सम्भावना कम हुनुका साथै हुर्कन पनि समय लाग्ने हुनाले गत साल रोपिएको विरुवा मरेको हुर्कन नसकेको ठाउँमा पुनः रोपिएको हो ।

गत बर्ष जेठ ३१ देखि असार २५ सम्ममा करिव ६० हजार विरुवा रोपिएको थियो । वृक्षरोपणको मुन्धुमि बिधि गर्न मुक्कुलुङ आउने फेदाङमाहरुलाई सुरक्षाकर्मीले चेकजाँच गरेको छ । लठ्ठी र खुकुरी बोकेको भन्दै फेदाङमाहरुलाई प्रहरीले चेकजाँच गरेको संघर्ष समितिका संयोजक लिंखिमले जानकारी दिनुभयो । 

संघर्ष समितिका संयोजक लिंखिमका अनुसार बृक्षरोपणपछि लिम्बुहरुको मुन्धुमी सभ्यताको उदगमस्थल इम्बिरि यङघङ, तमोर खोलामा जाने कार्यक्रमसँगै शान्तिपूर्ण आन्दोलनको अर्को चरण सुरु भएको छ ।