गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २ गते । उमेर नपुगी ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र लिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यस्ता कार्यमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको तत्कालीन नरैनापुर गाउँ विकास समिति (गाविस) का अध्यक्ष, सचिव, मुखिया र भत्ता लिने व्यक्तिविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
उक्त गाविसले आर्थिक वर्ष २०५७/५८ देखि २०७२/७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जनालाई वितरण गरेको आयोगले जनाएको छ । नागरिकतामा उल्लिखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकका रूपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाका रूपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाका रूपमा परिभाषित गरेर भत्ता वितरण गरेको आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
यी सबै कार्यबाट ६ लाख ५६ हजार सात सय रुपियाँ हानि नोक्सानी गरेको आयोगको दाबी छ । आयोगले तत्कालीन गाविस अध्यक्ष अजयकुमार श्रीवास्तव, सचिव सावितराम कुर्मी, अशोककुमार श्रीवास्तवसहित भत्ता लिने व्यक्तिलाई पनि प्रतिवादी बनाएको छ । प्रतिवादीलाई फरक फरक बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको छ । त्यतिबेला भत्ता लिनेमध्ये केहीको भने मृत्युसमेत भइसकेको छ ।