• २ असार २०८२, सोमबार

विरोधका बिच संसद् सञ्चालन नगर्न आग्रह

blog

काठमाडौँ, असार १ गते। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोधका बिच सदन सञ्चालन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ। 

 बैठकको आकस्मिक समयमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले प्रतिपक्ष दलले विरोध गरेको अवस्थामा सदन सञ्चालन गर्नु सोभनीय नभएको उल्लेख गर्दै संसद नचालाउन अनुरोध गर्नुभयो।   

“भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही हुनुपर्छ भन्ने मागमा सबैले साथ दिनुहोस्”, उहाँले भन्नुभयो, “यसरी संसद् चलाउनु, यो संसदीय अभ्यास हैन, यस्तो अवस्थामा संसद् नचलाइयोस्।” 

अर्का सांसद अमरेशकुमार सिंहले पनि नाराबाजीका बिच आफूले बोल्न नसक्ने सभामुखलाई जानकारी गराउनुभयो।    

 नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले पाँचथर जिल्लाको हेवा खोलामा निर्माणधीन ‘बेलिब्रिज’ भत्किँदा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै सो घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको समान्य छलफल प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेलाई बोल्न समय उपलब्ध गराउनुभएको थियो। सांसद पाण्डेले रास्वपाको नाराबाजीका बिच सभा सञ्चालन गर्दा प्रभावकारी नहुने बताउनुभयो।     

 “मन्त्रीज्यूले बजेटका सन्दर्भमा संशोधन गर्नुपर्ने महत्त्वपूर्ण विषयमा जानकारी गराउँदै हुनुहुन्छ। प्रतिपक्ष दलमध्ये एउटा दल नाराबाजीमा छ। यो नाराबाजीको अवस्थामा मन्त्रीले भन्नुभएको कुराहरू हामी सुनिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “सभा सञ्चालनको तरिका भएन। बैठक स्थगित गरेर, अवरोध गर्ने दलसँग सहमति गरी एउटा टुङ्गो पुगेर बैठक अघि बढाउनुहोस्।” रासस