राधाकृष्ण डुम्रे
वालिङ, असार १ गते । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिका स्थापना भएको नौ वर्षपछि आफ्नै भवनबाट सेवा दिन थालेको हो ।
फेदीखोलामा निर्माण गरिएको प्रशासकीय भवन ३ रोपनी क्षेत्रफलमा बनेको छ । पालिका परिसरको क्षेत्रफल १० रोपनी रहेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । निर्माण सुरु भएको चारबर्षमा भवनको निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ ।
अन्डरग्राउन्ड पार्किङसहित नवनिर्मित भवनका चार तलामा ३५ कोठा छन् । जिल्लामै बनेका पालिकाका भवनमध्ये लिफ्टसहितको भवन फेदीखोलाको पहिलो हो ।
सङ्घीय सरकार स्थानीय पूर्वाधार कार्यालय र फेदीखोला गाउँपालिकाको ६०÷४० प्रतिशत लागतमा ८ करोड ५२ लाख २९ हजार रुपियाँमा भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार किराँतेश्वर कन्स्ट्रक्सन कम्पनी काठमाडौंले दुई वर्षमा सक्ने गरेर २०७७ मा भवन निर्माणको सम्झौता भएको थियो । दुई पटक म्याद थपेर दुई वर्ष म्याद गुजारेर भवन निर्माण सकेको अधिकृत पौडेलले बताउनुभयो ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जा जिल्लामा फेदीखोला गाउँपालिकाको भवन नै अन्तिममा निर्माण सम्पन्न भएको छ । सङ्घीयता लागु हुनुपूर्व तीन नगरपालिका पुतलीबजार, वालिङ र चापाकोटले पहिल्यै बनेका भवन प्रयोग गरेका छन् भने सङ्घीयतासँगै बनेका दुई नगरपालिका र पाँच गाउँपालिकाले यसअघिनै भवन निर्माण गरिसकेका छन् ।
गाउँपालिकाले हालसम्म साबिक फेदीखोला गाविसको भवन मर्मत गरेर कार्यालय र शाखाहरु सञ्चालन गर्दै आएको छ । भवनबाट पूर्ण रुपमा सेवा प्रवाहको काम छिट्टै हुने पालिकाले जनाएको छ ।