• १ असार २०८२, आइतबार

अमेरिकी युवाले चिटिक्क पारे धारा

blog

अमेरिकाबाट आएका युवाले थाहा नगरपालिका लितीमा धारामा रङरोगन गर्दै । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, असार १ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२ मा अमेरिकाबाट आएका स्वयंसेवक युवाले खानेपानीको धारा रङ्ग्याएर चिटिक्क पारेका छन् । उनीहरूले लिती खानेपानी आयोजनाको ट्याङ्की र धारामा रङरोगन गर्नेदेखि स्वास्थ्य जाँच र सरसफाइ गरेका हुन् । 

खानेपानीको अभाव बेहोर्दै आएका लितीका बासिन्दा लक्षित खानेपानी आयोजना निर्माण गरिएको थियो । ‘च्वाइस नेपाल’ मार्फत नेपाल आएका युवाले एक लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीसँगै करिब पाँच हजार लिटर क्षमताका थप पाँच वटा खानेपानी ट्याङ्कीमा रङरोगन गरेका हुन् । 

वडाध्यक्ष लामाले अमेरिकाबाट पाँच दिनका लागि मङ्गलबार नेपाल आएका उनीहरूले २०५ वटा धारामा रङरोगन र सरसफाइ गरेर चिटिक्क बनाएको जानकारी दिनुभयो । “विदेशी पाहुनाको आगमनले गाउँको रौनक र चहलपहल बढाएको छ,” वडाध्यक्ष लामाले भन्नुभयो, “हामीले पनि उनीहरूलाई नेपाली रहनसहन र परम्पराबारे जानकारी गराउने अवसर पाएका छौँ ।”