विनय कर्ण
कल्याणपुर, (सप्तरी) जेठ २९ गते । सप्तरीमा औषधी खुवाएर अवैध तरिकाले गर्भपतन गराउँदा एक युवतीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
सप्तरीकी एक २० वर्षीया युवतीलाई औषधी खुवाएर अवैध तरिकाले गर्भपतन गराइएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
सप्तरीकै एक २३ वर्षीय युवासँगको प्रेमसम्बन्धबाट रहेको गर्भ परिवारले जबरजस्ती औषधी खुवाएर गर्भपतन गराएको खुलेको हो ।
पेटमा चार महिनाको गर्भ रहेको युवतीको परिवारले बताएको छ । छोरीलाई जबरजस्ती औषधी खुवाइएपछि उनको चार महिनाको गर्भ तुहिएको र छोरीको अवस्थासमेत चिन्ताजनक रहेको परिवारको भनाइ छ । स्वास्थ्य अवस्था जटिल भएपछि युवतीलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो ।
प्रहरीको सहयोगमा अस्पताल ल्याइएको र स्वास्थ्य परीक्षण गर्दा गर्भमा रहेको बच्चा तुहिएको पाइएको र औषधीको प्रभावले स्वास्थ्यमा समस्या भएको चिकित्सकले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले आरोपी युवाका आमाबुवा परमेश्वर खंग र झुलफुल देवीलाई बुधबार नै पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँले पक्राउ परेका खंग दम्पतीमाथि कुटपीट तथा भ्रूण हत्यासम्बन्धी मुद्दा चलाइने बताउनुभयो ।
यसअघि विवाहको प्रलोभन देखाई आफूसँग पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका युवा हाल फरार भएको भन्दै युवतीले प्रहरीमा उजुरी दिनुभएको थियो ।
*यसअघि समाचारमा असावधानीबस पीडितको परिचय खुल्ने गरी राखिएको तस्बिर र विवरण हटाइएको छ । यसले पर्न गएको क्षतिप्रति क्षमाप्रार्थी छौँ । –सम्पादक