नन्द सिंह
रलिङ (हुम्ला), जेठ २९ गते । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–१, २ र ३ स्थित श्रीनगरमा खानेपानीको समस्या भएको छ । गत चैत महिनादेखि श्रीनगरका स्थानीय नागरिक खानेपानीबाट वञ्चित हुनुपर्ने बाध्यता भएको हो । गाउँमा खानेपानीको अभाव भएको भन्दै उक्त क्षेत्रका नागरिक खानेपानीकै जोहो गर्न रातभरि जाग्राम बस्नुपर्ने स्थानीय वृष महताराले गुनासो गर्नुभयो । स्थानीय महताराका अनुसार श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्यामखोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै गएपछि श्रीनगरवासी मर्कामा परेका हुन् ।
जिल्लाकै घनाबस्तीमा पर्ने गाउँपालिका केन्द्रमा हाल खानेपानीको चरम समस्या देखिएको महताराको भनाइ छ । सार्वजनिक केही धारामा एक घण्टा मात्र पानी आउने भएका कारण पानी भर्नका लागि चौबिसै घण्टा पानी भर्ने ग्यालेन लाइनमा राख्नु परिरहेको स्थानीयले गुनासो गरेका छन् । खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको काम लाइनमा बसेर पालो आएका बेला पानी भर्नुपर्ने बाध्यता रहेको महताराले बताउनुभयो । पानी भर्नकै लागि स्थानीयवासी रातिको १/२ बजे उठेर लाइनमा बस्नुपर्ने बाध्यता छ । यतिबेला पानीको स्रोत कम भएकै कारण स्थानीयले खानेपानीका लागि दुःख भोग्नुपर्ने अवस्था छ । मानिसका लागि मात्र नभएर श्रीनगरका पशुवस्तुलाई समेत खानेपानीको कठिनाइ छ । पानीको समस्याका कारण ग्यालेनमा भरेर ल्याएको पानी बचत गरेर खर्च गर्नुपर्ने अवस्था रहेको अर्का स्थानीय हेलु भण्डारीले बताउनुभयो । १० जना परिवार भएको उहाँको घरमा दैनिक खानेपानीको अभाव खड्किएको छ ।
एक हजार पाँच सयभन्दा बढी घरधुरी रहेको श्रीनगरमा जम्मा तीन वटा सार्वजनिक धारा छन् तर त्यसले पुग्न सक्ने सम्भावना नरहेको स्थानीयको भनाइ छ । गाउँमा रहेका धारामा पानी नआएपछि बजारवासीले कर्णाली कोरिडोरको गल्फागाड खोलाको अँधेरीखोलाबाट घण्टौँ लगाएर पानीको व्यवस्था गर्नुपर्ने बाध्यता छ । यतिबेला खोलाको पानीसमेत निकै धमिलो भएका कारण सो पानी खाँदा गाउँमा सङ्क्रमण फैलिने चिन्ता स्थानीयमा छ ।