राजन रावत
हुम्ला, जेठ २९ गते । सिमकोट हिल्सा सडकको नाम्खा गाउँपालिका– १ र सिमकोट गाउँपालिका– १ को सिमाना पर्ने हेप्का खोलामा सम्झौता भएको आठ वर्षपछि पक्की पुलको निर्माण भएको छ । हिल्सा सिमकोट सडक योजनाको पटक पटकको ताकेतापछि पुलको निर्माण कार्यले पूर्णता पाएको हो ।
हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले निर्माण कम्पनीलाई धेरै ताकेता र परिपत्र गरेको परिणाम हेप्का खोलाको पक्की पुलको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।
अब एप्रोज रोडको निर्माण कार्य धमाधम भई रहेको बताउनुहुँदै उहाँले पुलको दुवैतर्फ गरी ५० मिटर एप्रोन रोड निर्माण असार भित्र हुने जानकारी दिनुभयो ।
पटक–पटक गरी पाँच पटक म्याद थप गरी निर्माण गरिएको सो पुलको लम्बाई २५ मिटर रहेको छ भने १३ मिटर उचाई रहेको छ । निर्माण कम्पनी सपना धुलिखेल जेभीका अनुसार पुलको निर्माण कार्य पूरा भएको र हाल एप्रोन रोड निर्माण भइरहेको छ । अब सक्दो चाँडो एप्रोन रोड निर्माण गरेर हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
आर्थिक वर्ष ०७४–०७५ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पुल निर्माणका लागि २०७४ साल साउन १५ गते निर्माण कम्पनी जेभीसँग योजनाले सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल साउन १५ गते सम्पन्न गर्ने गरी दस करोड ४८ लाख ८८ हजार ९४५ रुपियाँमा आयोजनासँग सम्झौता गरेको थियो ।
यसअघि सडक सञ्जाल नजोडिएका कारण निर्माण सामग्री ढुवानी गर्न कठिन र त्यसपछि कोरोनाको कारण काम अगाडि बढाउन नसकिएको निर्माण कम्पनीले जनाएको थियो ।