• ३० जेठ २०८२, शुक्रबार

खरमजुरको सङ्ख्या बर्सेनि घट्दै

blog

धनगढी समाचारदाता

धनगढी, जेठ २९ गते । लोपको सँघारमा पुगेको अति सङ्कटापन्न पन्छी खरमजुरको सङ्ख्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बर्सेनि घट्दै गएको छ । हरेक वर्ष भइरहेका गणनाको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशको यो निकुञ्जमा खरमजुरको सङ्ख्या घटिरहेको देखाएको हो । शुक्लाफाँटामा यस वर्ष तीन भाले र एक पोथी गरी चार वटा मात्रै खरमजुर अभिलेख भएका छन् ।  

“कम्तीमा पनि भाले बराबर पोथी गरेर छ वटा खरमजुर होलान् भन्ने हाम्रो अनुमान हो,” निकुञ्जका सूचना अधिकारी सहाय संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भन्नुभयो, “तर आँखाले चार वटा मात्रै खरमजुर देखिए ।” प्रजनन समयमा खरमजुरको भालेपोथी एकसाथ रहने गरेको उहाँले बताउनुभयो ।  निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले गत वैशाखमा खरमजुर पाइने घाँसे मैदानमा स्विप विधिबाट गणनाको काम गरेको थियो । यसै सिजनमा गत वर्ष गणना गर्दा तीन भाले, दुई पोथी गरेर पाँच खरमजुर भेटिएका थिए । यस वर्ष गणनाको क्रममा एउटा पनि पोथी देखा परेनन् । 

सन् २०२१ सालमा शुक्लाफाँटा निकुञ्जमा सात वटा खरमजुरको अभिलेख थियो । यसै गरी सन् २०२३ मा पाँच वटा अभिलेख गरिएको थियो । गत साल प्रजननको समयमा पहिलो पटक गणना गर्दा एउटा पनि खरमजुर फेला परेका थिएनन् । दोस्रो पटक पुनः गणना गरिएपछि बल्ल पाँच खरमजुर अभिलेखमा आएका थिए । 

निकुञ्ज क्षेत्रमा खरमजुरको सङ्ख्या घट्दै जानु चिन्ताको विषय रहेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो । उहाँले खरमजुर बाघ, गैँडाभन्दा पनि दुर्लभ भइसकेको उल्लेख गर्नुभयो । चैत, वैशाख खरमजुरको प्रजनन मौसम मानिन्छ । प्रजननका बेला पोथीलाई आकर्षित गर्न भाले खरमजुर घाँसमाथि उफ्रिने गरेकाले त्यसबेला गणना गर्न सहज हुने गरेको बताइएको छ तर सङ्ख्या नै कम रहेका कारण विरलै त्यस्तो दृश्य देखा पर्ने गरेका छन् । 

खरमजुरको सङ्ख्या घट्दो क्रममा रहेकाले यस चराको संरक्षणलाई मध्यनजर गरेर घाँसे मैदान व्यवस्थापन गर्न जरुरी रहेको सूचना अधिकारी वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “खास गरेर ब्रिडिङ सिजनमा हामीले धेरै ध्यान दिन जरुरी छ । जलाएर घाँसे मैदान व्यवस्थापन गर्ने कार्यलाई निरुत्साहित गर्नु पर्छ ।”