• ३० जेठ २०८२, शुक्रबार

तलुवागढीको फेरियो मुहार

blog

ओखलढुङ्गाको ऐतिहासिक स्थल तलुवागढी प्रवेशद्वार ।

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, जेठ २९ गते  । नेपाली सेनाको प्रयासमा ओखलढुङ्गाको ऐतिहासिक तलुवागढीको मर्मतसम्भार सकिएपछि यसको मुहार फेरिएको छ । जीर्ण अवस्थामा रहेको सिद्धिचरण नगरपालिका–२, ठुलाछापस्थित गढीको पुनर्निर्माण गरी दुर्गा बक्स गण ओखलढुङ्गाले सिद्धिचरण नगरपालिकालाई एक समारोहबिच हस्तान्तरण गरेको हो । 

दुर्गा बक्स गणका गणपति प्रमुख सेनानी विजयप्रकाश आङ्देम्बेले सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल र वडा नं. २ का अध्यक्ष वसन्त कटवाललाई गढी हस्तान्तरण गर्नुभएको हो । कार्यव्रmममा प्रमुख सेनानी आङ्देम्बेले ऐतिहासिक गढीहरूको संरक्षण गर्दै इतिहासलाई जीवित राख्न सेनाले मर्मतसम्भार र प्रवर्धनमा निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सेनाले महìवपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो । नगरप्रमुख खनालले सेनाको सीमित बजेटबाट गरिएको उत्कृष्ट कामप्रति प्रशंसा गर्दै आगामी दिनमा गढीको थप स्तरोन्नतिका लागि नगरपालिकाले सेनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

त्यसै गरी वडाध्यक्ष कटवालले गढी संरक्षण वडाको प्राथमिकतामा परेकाले सेनाको सहयोगले कार्य थप सहज भएको बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ मा ‘शीघ्र प्रभावकारी आयोजना’ शीर्षक अन्तर्गत सात लाख रुपियाँ विनियोजन गरी दुर्गा बक्स गणले सिद्धिचरण नगरपालिका र वडा नं–२ को सहकार्यमा गढीको स्तरोन्नति गरेको हो । सेनाले जीर्ण भइसकेको मन्दिरको स्तरोन्नति, पर्खाल मर्मत, छानो निर्माण, सजावट, ढुङ्गा बिछ्याउने, रङ्गरोगन, प्रवेशद्वार निर्माण, दुई वटा ठुला घण्ट प्रतिस्थापन र गढी जाने बाटो निर्माणलगायतका कार्य सम्पन्न गरेको छ ।

ऐतिहासिक अभिलेख अनुसार नेपाल एकीकरणको समयमा मकवानपुर कब्जापछि सेनवंशी राजाले किराँत राज्यमाथि आव्रmमण गर्दा तलुवागढीबाट तोलवा राजाले प्रतिरोध गरेको इतिहासमा उल्लेख छ । तलुवागढी केवल सांस्कृतिक सम्पदा र ऐतिहासिक विरासत मात्र नभई स्थानीय जीवनशैली, धार्मिक आस्था र पर्यटकीय सम्भावनाको केन्द्रसमेत हो । गढी परिसरमै रहेको जानुकादेवीको मन्दिर धार्मिक दृष्टिले महìवपूर्ण मानिन्छ । सरोकारवालाका अनुसार गढीको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा ध्यान दिएमा ओखलढुङ्गा जिल्लालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने देखिन्छ ।