साँफेबगर, समाचारदाता
अछाम, जेठ २९ गते । अछामको जयगढ बजारका आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२ पारित गरिएको छ । बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भएको आगलागीका पीडितलाई राहत उपलब्ध गराउनका लागि ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२’ पारित गरिएको हो । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने ऐतिहासिक जयगढ बजारमा गएको चैत २६ गते भएको आगलागीबाट प्रभावित पीडितलाई राहत उपलब्ध गराउन ‘आगलागी पीडितलाई नगद वितरण कार्यविधि २०८२’ पारित गरेर स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ ।
कार्यविधि पारित भएसँगै जयगढ बजारका आगलागी पीडितलाई राहत पाउने बाटो खुलेको हो । गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८१’ पारित गर्दै पीडितलाई राहत दिने औपचारिक प्रक्रिया पनि सुरु गरेको छ ।
सो कार्यविधि अनुसार आगलागीबाट घर, पसल, गोठ, टहरा, कार्यालय तथा अन्य संरचनामा पूर्ण तथा आंशिक क्षति बेहोरेका व्यक्तिहरूलाई मापदण्ड अनुसार नगद राहत प्रदान गरिने गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले बताउनुभयो । कार्यविधि पारित भएसँगै गाउँपालिकाले सो निर्णयलाई स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको छ ।
गाउँ कार्यपालिकाले बनाएको कार्यविधि अनुसार राहत उपलब्ध गराउन चार वटा श्रेणी बनाएको छ । कार्यविधिमा उल्लेख भए अनुसार घर, टहरासहितको व्यवसाय दुवै पूर्ण रूपमा जलेकोलाई अति उच्च, घर र व्यवसायमा आंशिक क्षति भएकोलाई उच्च, व्यवसायमा पूर्ण/आंशिक क्षति, टहरासहित व्यवसाय जलेकोलाई मध्यम तथा पूर्ण रूपमा जलेका साना व्यवसाय, कार्यालय, टहरा, अस्थायी आवास र कच्ची घरमा क्षति भएकालाई न्यून श्रेणीमा राखेर राहत वितरण गरिने उल्लेख गरिएको छ ।
कार्यविधि अनुसार अति उच्च श्रेणीमा परेकालाई चार लाखदेखि पाँच लाख ५० हजार, उच्च श्रेणीमा परेकालाई तीन लाखदेखि चार लाख, मध्यमलाई एक लाख ५० हजारदेखि तीन लाख र न्यून श्रेणीमा परेकालाई १५ हजारदेखि एक लाख ५० हजार रुपियाँसम्म राहत उपलब्ध गराइने उल्लेख गरिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर रावलले पीडितले अब गाउँपालिकासँग सम्पर्क राखेर राहतका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्ने बताउनुभयो । गत चैत २६ गते भएको आगलागीबाट जयगढ बजारमा ठुलो मात्रामा भौतिक तथा आर्थिक क्षति पुगेको थियो । राहतको कार्यविधि पारित भएसँगै पीडितहरूमा केही आशा जागेको छ ।
जयगढका आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले नगद ५० लाख रुपियाँ उपलब्ध गराइसकेको छ, भने गाउँपालिकाले छ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । विभिन्न व्यक्ति, राजनीतिक दल तथा सङ्घ संस्थाले पनि गाउँपालिकाको कोषमा रकम जम्मा गरेका छन् ।