रमेश विश्वकर्मा
गुल्मी, जेठ २८ गते । सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि गुल्मीका स्थानीय तहलाई पाँच अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहलाई पाँच अर्ब एक करोड ५३ लाख रुपियाँ बजेट विनियोजन भएको पाइएको हो ।
चालू आर्थिक वर्ष २०८१/०८२ को बजेटको तुलनामा ३१ करोड २६ लाख रुपियाँले बजेटभन्दा बढी बजेट आउने भएको छ । जिल्लाका स्थानीय तहहरुले न्यूनतम, सुत्र र कार्यसम्पादनमा आधारित कूल एक अर्ब ११ करोड ३० लाख रुपियाँ समानीकरण अनुदान प्राप्त गर्ने छन् । चालु र पुँजीगत प्रकृतिको आधारमा कुल तीन अर्ब ५६ करोड ७४ लाख रुपियाँ सशर्त अनुदान, १७ करोड ३८ लाख रुपियाँ विशेष अनुदान र पुँजीगत प्रकृतिको आधारमा १६ करोड ११ लाख रुपियाँ समपुरक अनुदान प्राप्त गर्ने भएका छन् ।
चालू आर्थिक वर्षमा यस जिल्लाका स्थानीय तहलाई चार अर्ब ७० करोड २७ लाख रुपियाँ बजेट विनियोजन भएको थियो । जसमा एक अर्ब १३ करोड ३७ लाख रुपियाँ समानीकरण, तीन अर्ब २८ करोड ६० लाख रुपियाँ सशर्त अनुदान, १४ करोड ५५ लाख रुपियाँ विशेष र १३ करोड ७५ लाख रुपियाँ समपुरक अनुदान विनियोजन भएको थियो ।
आगामी आव २०८२–०८३ का लागि यस जिल्लाका दुई नगरपालिकाले ९५ करोड ७४ लाख रुपियाँ बजेट अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्राप्त गर्ने उल्लेख छ । जसमा मुसिकोट नगरपालिकाले ५० करोड ४३ लाख रुपियाँ र रेसुङ्गा नगरपालिकाले ४५ करोड ३१ लाख रुपियाँ प्राप्त गर्ने भएका छन् ।
यस जिल्लाका दस गाउँपालिकाले चार अर्ब पाँच करोड ७९ लाख रुपियाँ प्राप्त गर्ने अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरणको विवरणमा उल्लेख छ । जसमा इस्मा गाउँपालिकाले ३३ करोड १० लाख रुपियाँ, कालीगण्डकी गाउँपालिकाले ३८ करोड ४४ लाख रुपियाँ, गुल्मीदरबार गाउँपालिकाले ३८ करोड ५३ लाख रुपियाँ, चन्द्रकोट गाउँपालिकाले ३८ करोड ४६ लाख रुपियाँ प्राप्त गर्ने पाइएको छ ।
त्यसैगरी, छत्रकोट गाउँपालिकाले ४२ करोड ७२ लाख रुपियाँ, धुर्कोट गाउँपालिकाले ४५ करोड ५३ लाख रुपियाँ, मदाने गाउँपालिकाले ४० करोड तीन लाख रुपियाँ, मालिका गाउँपालिकाले ४६ करोड ४० लाख रुपियाँ, रुरुक्षेत्र गाउँपालिकाले ४० करोड ५० लाख रुपियाँ र सत्यवती गाउँपालिकाले ४२ करोड आठ लाख रुपियाँ प्राप्त गर्ने छन् ।