• २९ जेठ २०८२, बिहिबार

अवैध गतिविधि रोक्न संयुक्त गस्ती

blog

बबई समाचारदाता

बबई (बर्दिया), जेठ २८ गते । बर्दियाको राजापुर नगरपालिकाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न र जीर्ण बन्दै गएका सीमा पिल्लरको संरक्षण गर्न चासो देखाएको छ । सीमा क्षेत्रमा रहेका मुख्य सीमास्तम्भ, सहायक सीमास्तम्भ र सानो सीमास्तम्भ संरक्षण गर्न राजापुर नगरपालिका र सुरक्षा निकायले सीमा क्षेत्रको अनुगमनसमेत गरेका छन् ।

बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिका भारतसँग सीमा जोडिएका स्थानीय तह हुन् । चार तहमध्ये राजापुर नगरपालिकाको मात्र १४.३ किलोमिटर सीमा भारतीय सीमासँग जोडिएको छ भने राजापुर नगरपालिकाले सीमा क्षेत्रको निरीक्षण गर्दै आएको छ । १४.३ किलोमिटर सीमा क्षेत्रमा सात वटा मुख्य सीमास्तम्भ र पाँच वटा सहायक सीमास्तम्भ गरी कुल १२ वटा सीमास्तम्भ रहको छ भने तीमध्ये दुई वटा सीमास्तम्भ जीर्ण रहेको पाइएको छ ।

राजापुर नगरपालिका नगर प्रमुख दीपेश थारूले नेपाल–भारत सीमा क्षेत्र खुला सीमा भएकाले यसमा हुने अवैध गतिविधि नियन्त्रण गर्न र सीमा क्षेत्रमा भएका मुख्य, सहायक र साना सीमास्तम्भको संरक्षण गर्न राजापुर नगरपालिकाले सीमा क्षेत्रको अनुगमन गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले राजापुर र भारततर्फको सीमा क्षेत्र कर्तनिया वन्यजन्तु आरक्षसँग जोडिएकाले त्यस क्षेत्रमा भएका सीमास्तम्भ, अवैध चोरी पैठारी हुन सक्ने आशङ्काले त्यसको नियन्त्रण गर्न सीमा अनुगमन गरिएको बताउनुभयो ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिसहित नगरपालिकाको संयुक्त टोलीले समय समयमा सीमा क्षेत्रको निगरानी गर्ने गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र कुँवरले राजापुर क्षेत्रसँग जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा मुख्य सीमास्तम्भ मध्ये दुई वटा सीमास्तम्भ हात्तीले भत्काएका कारण त्यसको जीर्णोद्धार गर्नका लागि सम्बन्धित निकायमा पठाएको बताउनुभयो ।