• २९ जेठ २०८२, बिहिबार

कालिगण्डकी किनारमा तयार भयो बेनी रिङरोड

blog

कालिगगण्डकी नदी किनारमा तयार भएको ढलानसहितको रिङरोड र बेनी बजार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २८ गते ।
म्याग्दीको सदरमुकाम बेनीस्थित कालिगण्डकी नदी किनारमा पक्की ढलानसहितको रिङरोड तयार भएको छ । रिङरोड निर्माण भएपछि आवतजावतमा सहज भएको स्थानीयको भनाइ छ ।  

संघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा गत चैत महिनामा बेनी रिङरोड स्तरोन्नति योजना अगाडि बढाएको थियो । निर्माण कम्पनीले ठेक्का सम्झौताको म्यादभन्दा २५ दिन अघि आरसीसी ढलानसहितको रिङरोड निर्माण सम्पन्न गरेको छ । सडक ढलान गरेर चिटिक्क पारिएपछि कालिगण्डकी र म्याग्दी नदी किनार सुन्दर देखिएको छ ।

यसअघि कच्ची सडक भएकाले सवारीसाधन गुडाउदा धुलो उडेर बजार नै ढाक्ने गरेको थियो । सडक ढलान भएसँगै धुलो र बर्खायाममा हिलोको समस्या हटेको बेनी नगरपालिका ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले असार १५ सम्म सडक निर्माण सम्पन्न गर्नेगरी गत चैत महिनामा तीन करोड १९ लाख रुपियाँमा विकेश दुप्चेश्वर सुभम जेवीसँग ठेक्क सम्झौता गरेको थियो ।

कार्यालयका इन्जिनियर विरबल सुनारका अनुसार बेनी नगरपालिका ८ कालिपुलदेखि वडा नम्बर ७ स्थित जिल्ला प्रहरी कार्यालय सम्म ५ देखि ६ मिटर चौढाईमा नालीसहित नौ सय मिटर दूरीको सडक आरसीसी ढलान गरिएको छ । ठेक्का सम्झौता लगत्तै निर्माण व्यवसायीले उपकरण र मजदुर परिचालन गरेर निर्माणलाई तीव्रता दिएकाले समयअवधि भित्रै योजना सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘असार १५ भित्र योजना सम्पन्न गर्न निर्माण कम्पनीलाई कार्यालयले समय दिएका थियो । तर जेठ २५ गते भित्र नै योजना सम्पन्न गरेर उक्त कम्पनीले उदाहरणीय काम गरेको छ ।’’

नेपाल सरकारले अगाडि बढाएको दशवटा नमूना नगरपालिका कार्यक्रमअन्तर्गत बेनी नगरपालिकाले बेनी रिङरोड स्तरोन्नति योजना प्रस्ताव गरे अनुसार चालु आर्थिक वर्षमा बजेट विनियोजन भई कालिगण्डकी नदी किनारमा रिङरोड निर्माण गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

नगरप्रमुख सुरत केसीले भन्नुभयो, ‘‘रिङरोड तयार भएको छ । अब ठुला सवारीसाधनलाई रिङरोडबाट आवतजावतको व्यवस्था मिलाउछौं । कालिगण्डकी नदी किनारमा रिङरोड बनेकाले बजार पनि सुन्दर देखिएको छ । नगरपालिकाले रोडको छेउछाउमा फूलहरु रोप्नुका साथै विद्युतीकरण गरेर रिङरोडलाई सौन्दर्यकरण गर्ने योजना छ ।’’

उपकरण र मजदूर परिचालन गरी योजना सम्झौता मिति भित्र नै रिङरोड ढलानको  काम सम्पन्न गरेको निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताउनुभयो ।