• २९ जेठ २०८२, बिहिबार

हेवाखोलामा जोडिँदै बेलिब्रिज

blog

मेची राजमार्गमा अवस्थित पाँचथरको हेवाखोलामा जडान भइरहेको बेलिब्रिज । तस्बिर : राधा लुइटेल

फिदिम समाचारदाता

फिदिम, जेठ २८ गते  । मेची राजमार्गमा पर्ने हेवाखोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नु परेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो ।

पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाममार्फत पुनः जडानका लागि बोलपत्र आह्वान गरी काम अगाडि बढाइएको हो ।

सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ । त्यसमध्येको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यही गतिमा काम भए करिब एक साताभित्र सम्पूर्ण काम सम्पन्न भएर असार लाग्दा यातायात र ढुवानीका साधन सुचारु हुन सक्छ । सङ्घीय सरकारको बजेटबाट तीन करोड ४९ लाख रुपियाँको लागतमा जडान भइरहेको बेलिब्रिजका लागि दोभान सुपर सौगात लाइट बेल्डर जेभीले ठेक्का लिएको छ ।

बेलिब्रिजको स्ट्रक्चर बलियो बनाउन फिदिमपट्टि दुई हजार छ सय घनमिटर ग्याबिन वाल निर्माण गरिएको छ ।

७० मिटर लम्बाइ र १० मिटर उचाइको सिङ्गल स्पानको यो बेलिब्रिज नेपालकै सबैभन्दा लामो हो । यो २५ टन भार वहन क्षमताको छ ।