• २९ जेठ २०८२, बिहिबार

भूकम्पको क्षति विवरणमै अल्झियो सरकार

blog

टहरामा बस्दै आएकी भूकम्पपीडित । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत 

जाजरकोट, जेठ २८ गते । भूकम्पले २०८० साल कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिमका हजारौँ परिवारको घर भत्काइदियो । डेढ वर्ष बितिसक्यो तर टहरा र त्रिपालमुनिको बासको अन्त्य भने हुन सकेको छैन । 

भेरी नगरपालिका–१, रावतगाउँका अमरबहादुर परियारको सात जनाको परिवारले पाँच मिटर लम्बाइ र पाँच मिटर चौडाइको साँघुरो टहरामा जीविकोपार्जन गरिरहनुभएको छ । उहाँ दुई वटा हिउँद र अहिले दोस्रो बर्खा यही टहरामै बिताउँदै हुनुहुन्छ । सरकारले स्थायी आवास बनाउने कुनै तयारी गरेन । दुई साताअघि आएको हावाले टहराको टिन उडाएपछि उहाँले पुराना कपडा र त्रिपालले छोपेर बालबच्चाको जीवन जोगाइरहनु भएको छ ।

नलगाड नगरपालिका–१ का घनश्याम महरको परिवार पनि टहरामाथिबाट झर्ने पहिरोको त्रासमा बाँचिरहेको बताउनुहुन्छ । “ठुलो पानी पर्‍यो भने पहिरोले क्षति पुर्‍याउने छ,” उहाँ भन्नुहुन्छ, “यही टहरामै दुई वटा हिउँद बिताइयो, पानी पर्न सुरु गरिसक्यो, अब दोस्रो बर्खा पनि यहीँ बित्ने भयो ।” सङ्घीय सरकारले पुनर्निर्माणको काममा ढिलाइ गर्दा भूकम्पपीडित सास्तीपूर्वक जीविकोपार्जन गर्न बाध्य छन् । 

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि क्षतिको विस्तृत विवरण (डिटेल ड्यामेज एसिस्मेन्ट–डिडिए) को काममा ढिलाइ हुँदा पुनर्निर्माणको काम अन्योलमा परेको हो । पहिलो चरणमा झन्डै ३८ हजार घरको डिडिए सकिएको जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले डिडिएका लागि पहिलो चरणमा प्राधिकरणका २० सहित ११८ जना प्राविधिक खटिएको जानकारी दिनुभयो । 

केसीले भन्नुभयो, “बाँकी घरधुरीको डिडिएका लागि फेरि अर्को टोली खटाइएको छ, डिडिएको काम सकिएपछि पुनर्निर्माणका लागि सम्झौताको काम अघि बढ्छ । दोस्रो चरणका प्राविधिकलाई ४५ दिनको कार्यादेश दिइएको छ, वैशाख दोस्रो सातादेखि उनीहरू फिल्डमा खटिएका छन् ।”