बिष्णुप्रसाद पोखरेल
दमक, जेठ २८ गते । झापामा किसानको भैसी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–६ का खगेन्द्र कार्कीको पगाह लगाएको भैँसी चोरेर बिक्री गर्न लागेको अवस्थामा स्थानीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीको भैँसी चोरी गरेर बिक्री गर्न लागेको अवस्थामा १९ वर्षीय बिनोद बनियाँलाई पक्राउ गरिएको छ । बनियाँले भैँसी चोरेर झापा गाउँपालिका र बाह्रदशी गाँउपालिकाको सिमानामा रहेको बिरिङ खोला पुर्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
बनियाँले भैँसी खरिद गर्ने व्यापारीहरुलाई बोलाई सस्तोमा भैँसी बिक्री गर्न खोज्दा स्थानीयले भैँसी चोरेर ल्याएको हुनसक्ने आंशका गरेर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बनियाँलाई पक्राउ गरेर चोरी मुद्दा लगाइएको छ ।