• २९ जेठ २०८२, बिहिबार

आत्मनिर्भर बन्दै कञ्चनपुरका कृषक

blog

ड्र्यागन फ्रुट खेती ।

भवादीदत्त भट्ट

कञ्चनपुरका कृषक कृषि पेसाबाटै आत्मनिर्भर बन्न थालेका छन् ।  सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलक्षित विभिन्न अनुदानलगायतका कार्यक्रम सञ्चालन गर्दा कृषक आत्मनिर्भर बन्दै गएका हुन् । 

कञ्चनपुरका कृषकले प्रदेश सरकार बनेदेखि अनुदानका कार्यक्रम पाउँदै आएका छन् । जसले गर्दा कृषकलाई थप कृषि क्षेत्र विस्तार गर्न सहजता भएको छ । यहाँका कृषकले च्याउ खेती विस्तार, बगर खेती, ड्र्यागन फ्रुटलगायत खेती गर्दै आएका छन् । कृषि पेसामा लागेपछि ती कृषकले अहिले मनग्गे आम्दानी गर्न थालेका छन् ।

च्याउ खेतीबाट मनग्गे आम्दानी 

कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा ५१ वटा कृषि सहकारीलाई नौ लाख १० हजारको च्याउ खेतीमा अनुदान उपलब्ध गराएको छ । जसमा झन्डै १५० भन्दा बढी कृषकले प्रत्यक्ष लाभ लिएको ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले बताउनुभयो । 

लालझाँडी गाउँपालिका–१, नौरगाङ्काका कृषक देवकुमारी रानाले चालु आवमा ३५ हजार बराबरको च्याउ खेतीका लागि अनुदान पाउनुभयो । च्याउ खेतीबाट उहाँले एक लाखको कारोबार गरेको बताउनुभयो । 

रानाले अहिले डेढ बिघा जमिन भाडामा लिएर अन्य तरकारी खेती पनि गर्दै आउनुभएको छ । उहाँले वार्षिक ६० हजार रुपियाँमा जमिन भाडामा लिनुभएको छ । रानाले डेढ बिघा जमिनमा हल्दी, अदुवालगायत तरकारी खेती गर्दै आउनुभएको छ । कृषि कार्यबाट घरखर्च, बालबच्चाको पढाइ खर्च धान्दै आएको उहाँले बताउनुभयो । 

कृषक पार्वती थापा

यस्तै भीमदत्त नगरपालिका–६ का एकल महिला पार्वती थापा विगत १० वर्षदेखि कृषि क्षेत्रमा सक्रिय हुनुहुन्छ । व्यावसायिक च्याउ खेतीबाट उहाँले मनग्गे आम्दानी गर्दै आउनुभएको छ । थापाले गत वर्ष एक हजार पोका कन्ये जातको च्याउ उत्पादन गर्नुभएको थियो । कन्ये च्याउ सिजनमा हुने भएकोले बिक्री गर्न भने केही कठिनाइ हुने गरेको उहाँ सुनाउनुहुन्छ । बजारको समस्याले उत्पादन गरेको च्याउ कहिलेकाहीँ बिक्री नहुने पीडासमेत उहाँले भोग्दै 

आउनुभएको छ । थापाले यस वर्ष गर्मी सिजनमा मिर्ची जातको च्याउ उत्पादन गरिराख्नुभएको छ । हाल झन्डै ५० हजारको लगानीमा च्याउ खेती गरेको उहाँले बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रको १५ हजार अनुदान र आफ्नै लगानीमा उहाँले च्याउ खेती गरिरहनुभएको छ । 

थापाले च्याउ खेतीसँगै बेमौसमी तरकारी खेती पनि गर्दै आउनुभएको छ । दुई छोराको पढाइ खर्च र पारिवारिक खर्च  तरकारी खेतीबाट नै धान्दै आएको उहाँले बताउनुभयो । 

पहिलेदेखि नै कृषि व्यवसाय गर्ने सोच रहेको बताउनु हुँदै थापाले च्याउ खेतीमा लागेर सफल भएको अनुभव सुनाउनुभयो । यो व्यवसाय घरमा बसेर पनि गरिने भएकाले अरूलाई पनि यो व्यवसाय गर्न उहाँले अनुरोध गर्नुभएको छ । 

बगर खेतीबाट मनग्गे आम्दानी

अधिकांश कृषक बगर खेती गरेर मनग्गे आम्दानी गर्दै आएका छन् । ज्ञान केन्द्रले बगर खेतीका लागि कृषकलाई अनुदानमा बिउबिजन, विषादी, उत्पादनका सामग्री उपलब्ध गराएपछि कृषक त्यसबाट आम्दानी गर्न थालेका हुन् । प्रदेश सरकारले कृषि ज्ञान केन्द्रबाट चालु आर्थिक वर्षमा कञ्चनपुरका २४६ कृषकलाई अनुदान दिएको थियो । 

४८ कृषक समूह, सहकारीलाई झन्डै २८ लाख अनुदान उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ । जसमा मन्त्रालयले लालझाँडी गाउँपालिकामा छुट्टै आठ लाख र पुनर्वास नगरपालिकामा पाँच लाख अनुदान दिएको थियो । 

बगर खेतीबाट कृषकले सिजनमा चार लाखसम्म आम्दानी भएको बताउँछन् । कृष्णपुर नगरपालिकाको बनहरा नदीको बगरमा गत वर्ष ९० परिवारले तरकारी खेती गर्ने गरेका छन् । बगर खेती गरेरै घरखर्च धानिरहेका कृष्णपुर–२ का मञ्जु चौधरीले छ समूह बनाएर बगर खेती गरेको बताउनुभयो । उहाँले ज्ञान केन्द्रबाट ५० प्रतिशत अनुदान पाउनुभएको छ ।

बगरमा खेती गर्नका लागि बिउबिजन उपलब्ध भए पनि सिँचाइका लागि बोरिङ र बजार व्यवस्थापनको आवश्यकता रहेको उहाँले बताउनुभयो । रातदिन नभनी मेहनत गरेर खेती गर्छौं, बजार व्यवस्थापन र भण्डारणको समस्याले लाखौँको उत्पादन खेर गएर दुःख भोग्नु परिरहेको उहाँले गुनासो गर्नुभयो ।  बगर खेती गरिरहनुभएका कल्पना चौधरीले भन्नुभयो, “बगर खेतीले निकै राहत पु¥याएको छ, आफूले सिजनमा दुई/तीन लाखसम्म आम्दानी गर्ने गरेको र आर्थिक अवस्था केही हदसम्म भए पनि सुधार भएको छ ।”

यस्तै लालझाडी गाउँपालिका–४, डाँगाजाइकी मन्तोरा राना बगर खेतीबाट राम्रै आम्दानी गर्दै आउनुभएको छ । उहाँको एक बिघा १० कट्ठा जमिन दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको थियो । प्रदेशले अनुदान उपलब्ध गराएपछि उहाँले बगरमै तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । 

बगर खेती गरिरहेकी कृषक मन्तोरा राना ।

बगरमा उत्पादित तरकारी बिक्री गरेर आउने पैसाले उहाँको घरखर्च चल्छ । ५० प्रतिशत अनुदानले तरकारी खेतीबाट आम्दानी हुन थालेपछि यसलाई व्यवसायीकरण गरेको उहाँ बताउनुहुन्छ । उत्पादित तरकारी उहाँका श्रीमान्ले गाउँ गाउँ लगेर बेच्ने गर्नुभएको छ । तरकारी खेतीबाट उहाँले सिजनमा दुई लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । डाँगाजाइँका मोलसिंह रानाले पनि बगर खेती गरिरहनुभएको छ । 

डाँगाजाइँकै नन्दराम राना पनि एक दशकयता दोदाको बगरमा तरकारी खेती गरिरहनुभएको छ । २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो । बगरमा तरबुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गर्दै आउनुभएको छ । बगरमा खेती गरेर झन्डै पाँच सय बढी परिवारको गुजारा धानिएको छ । 

ड्र्यागन फ्रुट खेतीतर्फ आकर्षण

कञ्चनपुरमा साना तथा ठुला गरेर धेरै कृषक ड्र्यागन फ्रुट खेतीतर्फ आकर्षित हुन थालेका छन् । शुक्लाफाँटा नगरपालिकाका तीर्थबहादुर सिंहले झन्डै डेढ बिघा जमिनमा ड्र्यागन फ्रुट खेती गर्नुभएको छ । गत वर्षको फागुन महिनादेखि ड्र्यागन फ्रुट खेती सुरु गर्नुभएका उहाँले ज्ञान केन्द्रको १७ लाख र २७ लाख आफ्नो लगानीमा ड्र्यागन फ्रुट खेती गर्नुभएको हो । ठाउँ ठाउँमा खरिदको व्यवस्था र सहज तरिकाले बिक्री गर्न सक्ने व्यवस्था सरकारले गर्नुपर्ने माग पनि उहाँको छ । 

यस्तै भीमदत्त नगरपालिका–५ का रमेशबहादुर चन्द र ज्ञानेन्द्र महता साझेदारीमा ड्र्यागन फ्रुट खेती गरेर मनग्गे आम्दानी गर्दै आउनुभएको छ । कृषिको केही अनुदान र आफ्नै लगानीमा उहाँले झन्डै सात बिघा जमिन लिजमा लिएर विगत चार वर्षदेखि ड्र्यागन फ्रुट खेती गर्दे आउनुभएको हो । 

भीमदत्त नगरपालिका–९, मटेनामा झन्डै तीन करोडको लगानीमा ड्र्यागन फ्रुट खेती सुरु गर्नुभएका उहाँहरू अहिले प्रतिफल राम्रो उठेको बताउनुहुन्छ । लगानी उठेर आम्दानी राम्रो भएपछि चन्दले वनगाउँमा पनि एक बिघा जमिन भाडामा लिएर ड्र्यागन फ्रुटखेती गरिरहेको बताउनुभयो । ड्र्यागन यहीँको बजारमा बिक्री हुने गरेकाले हाल बजारको समस्या भने नरहेको उहाँको भनाइ छ । उत्पादन बढ्दै गएपछि आगामी दिनमा अन्य मुलुकमा पनि ड्र्यागन बिक्रीका लागि पठाउने गरेर तयारी भइरहेको उहाँले बताउनुभयो । 

साना सिँचाइ कार्यक्रम

कृषि ज्ञान केन्द्र कञ्चनपुरले चालु आवमा झन्डै आठ सय कृषकलाई साना सिँचाइ कार्यक्रम अन्तर्गत पम्प सेट, इन्जिन बोरिङ, मोटर वितरण गरेको छ । सिँचाइ सुविधा नपुगेका ठाउँमा किसानको उत्पादकत्व वृद्धि गर्न, व्यवसायीकरण गर्न, आयआर्जनमा वृद्धि गर्न ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी साउदले बताउनुभयो । चालु आवमा कृषि ज्ञान केन्द्रले झन्डै पाँच करोड बराबरको कृषि उपकरण वितरण गरेको छ । साना सिँचाइ सामग्री पाएपछि कृषि उत्पादन गर्न सहज भएको शुक्लाफाँटा नगरपालिकाका कृषक नरेश रानाले बताउनुभयो । 

थारू आलु प्रवर्धन कार्यक्रम 

ज्ञान केन्द्रले कञ्चनपुरमा थारू आलु प्रवर्धन कार्यक्रम अन्तर्गत कृषकलाई अनुदानमा बिउ उपलब्ध गराउँदै आएको छ । ५५ समूह, सहकारी अन्तर्गत १२५ जना कृषकलाई यस वर्ष थारू आलु प्रवर्धन कार्यक्रम अन्तर्गत अनुदान पाएका छन् । थारू कृषकले रैथाने जातको आलु प्रवर्धन गर्नका लागि झन्डै ११ लाख अनुदान दिइएको छ । थारू आलु प्रवर्धन कार्यक्रममार्फत अहिले कृषकले रैथाने आलु उत्पादन गरेर बजारमा बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।