• २९ जेठ २०८२, बिहिबार

झापामा गर्मीका कारण जनजिवन प्रभावित

blog

बिष्णुप्रसाद पोखरेल
दमक, जेठ २८ गते ।
झापामा अधिक गर्मीका कारण जनजिवन प्रभावित बनेको छ । गर्मीका कारण दुई जनाको मृत्यु भएको आंशका गरिएको छ । अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु भएको आशंका गरिएको हो ।

मङ्गलबार अपराह्न अर्जुनधारा –११ नयाँ बस्तीस्थित चियाबगानभित्र कच्ची बाटोमा सोही ठाउँ बस्ने ६० वर्षीय मित्रलाल कामी मृत फेला पर्नु भएको थियो । तातो घाममा कामी ढलेको अवस्थामा स्थानीले देखेर प्रहरीलाई खबर गरेको बताइएको छ ।

यसैगरी, बिर्तामोड नगरपालिका–२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैवारीमा बिर्तामोड २ आदर्श टोल बस्ने वर्ष ३६ वर्षीय राम टुडु मृत अवस्थामा भेटिनु भएको छ । बाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार अधिक गर्मीकै कारण उहाँहरुको मृत्यु भएको हुनसक्ने स्थानीयहरुले बताएको जनाउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले गर्मी धेरै भए पनि गर्मीका कारण नै मृत्यु भएको हो भन्ने पुष्टि गर्न भने नसकिएको बताउनुभयो । उहाँले अधिक गर्मीको समयमा अति आवश्यकीय काम बाहेक बाहिर ननिस्कन आग्रह गर्नुभयो ।

कमल गाँउपालिकामा बिद्यालय बन्द

यसैबिच झापामा अधिक गर्मी बढेपछि कमल गाँउपालिकाले दुई दिनका लागि पालिकाभित्रका बिद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । पछि अन्य बिदामा मिलान गरी पठनपाठन गराउन भन्दै विद्यालय बन्द गराउन निर्देशन दिएको हो ।

गाँउपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार गर्मीले बालबालिका बेहोस हुने अवस्था आएपछि विद्यालयहरु बन्द गराउने निर्णय गरिएको हो । बालबालिकाहरुलाई गर्मीबाट जोगाउनका लागि अभिभावकहरुलाई आग्रह पनि गरिएको उहाँले जनाउनुभयो ।