रमेश विश्कर्मा
गुल्मी, जेठ २८ गते । रेसुङ्गा मदाने जडीबुटि तथा कृषि उत्पादन प्रशोधन प्रालि गुल्मीले जिल्लामा आवश्यक विभिन्न प्रजातिका बिरुवाहरु उत्पादन गर्दै आइरहेको छ । २०६४ सालदेखि सञ्चालनमा आएको यस कृषि फर्मले सुन्तला, कागती, मौसम, अनार, ओखर, टिमुर, आँप, किबी, अम्बा, लिचिका बिरुवा उत्पादन गर्दै आइरहेको हो ।
यो समय बिरुवा लगाउने समय पनि हो । यतिबेला उक्त फर्ममा हजारौं बिरुवाहरु बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । तर फर्म उत्पादन भएका बिरुवाहरु बिक्री नहुँदा सञ्चालक कृषक वीरबहादुर कार्की चिन्तित हुनुहुन्छ
उहाँले २०६४ देखि सदरमुकाममा अवस्थित रेसुङ्गा नगरपालिका वडा नम्बर– ९ अर्घाखाँची जिपपार्कमाथि आफ्नो दुई रोपनी जग्गा र भाडाको ६ रोपनी जग्गामा व्यवसायिक रुपमा फलफूलका बिरुवाहरु उत्पादन गर्दै आइरहनुभएको छ । यो सिजनका लागि ३५ हजार विभिन्न प्रजातिका फलफूलका बिरुवा बिक्रीका लागि तयारी अवस्थामा रहेको कार्कीले बताउनुभयो । यस फर्मबाट उत्पादन भएका बिरुवाहरु विगतका वर्षहरुमा गुल्मीसँगै पर्वत, स्याङ्जा र बागलुङमा धेरै स्थानमा बिरुवाहरु लैजाने गरिएको थियो ।
२०७९ सालमा १७ लाख बिरुवा मात्रै बिक्री गर्नुभएका कार्कीले त्यस यता भने बिरुवाहरुको बिक्रीमा कमी आएको गुनासो गर्नुभयो । जिल्लामा विभिन्न कार्यालयहरु र पालिकाहरुमा समेत कृषिसँग सम्बन्धित कार्यालय छन् । उनीहरुले समय–समयमा विभिन्न बिरुवाहरु कृषकहरुलाई अनुदानमा बिक्री समेत गर्ने गर्दछन् । तर पालिकाहरु र जिल्लामा रहेका कृषिसँग सम्बन्धित कार्यालयहरुले जिल्लामा उत्पादन भएको बिरुवालाई भन्दा बाहिर उत्पादन भएका बिरुवाहरु लिएर बिक्री गर्ने गरेका कारण यहाँ उत्पादन भएका बिरुवाहरु बिक्रीमा कमी आएको उहाँले गुनासो गर्नुभयो ।
“यहाँ रहेका कार्यालयहरुले स्थानीयस्तरमै उत्पादन भएका बिरुवाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन ।” कार्कीले भन्नुभयो, “यहाँ हामीले थुप्रै लगानी गरी बिरुवा तयार गछौं । त्यति मात्र हाइन्, बाहिरबाट कृषि ओजेटिका लागि आउने विद्यार्थीहरु समेत यहि फर्ममा आएर ओजेटि गर्ने गर्नुहुन्छ । तर सम्बन्धित कार्यालयबाटै सहयोग हुन सकिरहेको छैन ।”
बिरुवा तयार हुन दुई वर्ष लाग्छ । पानी धेरै परे कुहिन्छ । पात डढ्ने, खुम्चिने, लाइ लाग्ने, ढुसी लगायतका समस्याबाट बिरुवाहरुलाई बचाउनुपर्छ । जिल्लामै उत्पादन भएका बिरुवाहरुलाई सरकारी कार्यालयहरुले पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।