काठमाडौँ, जेठ २७ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार रोक्न अझै व्यापक छलफल आवश्यक रहेको बताउनुभएको छ । काँग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलबार काठमाडौँमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले भ्रष्टाचार रोक्न अझै व्यापक छलफल गरेर भ्रष्टाचार न्युनिकरणमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले आफूले काठमाडौँमा सुनको व्यापार गर्नेले चोरीको सुनबाट गहना बनाउनुपरेको गुनासो गरेको भन्दै नेपालमा सुन पूर्ण रुपमा खुला गर्नुपर्ने बताउनुभयो।
उहाँले आफू प्रधानमन्त्री रहेको बेलामा पनि सुन पूरा रुपमा खोलेको बताउँदै सुन पूर्ण रुपमा खोल्न रोक्न नहुने उहाँको भनाइ छ। अहिले नेपालमा व्यापारीले दैनिक २० किलोसम्म सुन आयात गर्नसक्ने नीतिगत व्यवस्था छ ।
सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताउनुभयो । व्यापारी र उद्योगीलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरु सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो । पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीलाई । खासगरी उपभोक्ता मान्छे बोहक केही निर्यात नै छैन यहाँबाट । त्यस्तो अवस्था छ । अरु केही निर्यात गर्नै सकेका छैनौँ । आयातमा भर पर्नुपर्ने कुरा छ ।’
सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमाल नाङ्गो भइसकेको बताउनुभयो । उहाँले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताउनुभयो । हिमाल बचाउन महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताउनुभयो। जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने जिकिर गर्नुभयो ।