काठमाडाैँ, जेठ २७ गते । पाँचौँ वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ ।
गणेशमान सिंह फाउन्डेसन अन्तर्गत गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा काठमाडौँमा १० किलोमिटरको रोड रेस हुन लागेको हो । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोट्र्स कमिटीले सन् २०१४ देखि रोड रेस हुँदै आएको छ ।
गणेशमान सिंह स्पोट्र्स कमिटीले मङ्गलबार दरबारमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै रोड रेसको बारे जानकारी दिएको हो । रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु हुने भएको छ ।
त्यसपछि भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमा समाप्त हुने आयोजकले जनाएको छ । पाँचौँ वीर गणेशमान सिंह रोड रेस १० किलोमिटर महिला र पुरुषतर्फ खुला रूपमा प्रतिष्पर्धा हुने भएको छ । महिला तथा पुरुषका विजेताले समान ६० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले पाँच पाँच हजार नगद पुरस्कार पाउने छन् ।
नेपाल एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने गणेशमान सिंह स्पोट्र्स कमिटीका संयोजक सञ्जीव तुलाधरले बताउनुभयाे । यस दौडमा कोर्ष रेर्कड कायम गर्ने पहिलो खेलाडीले थप नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । रोड रेसमा करिब चार सय ५० जनाले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
महिलामा राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषमा गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको कोर्ष रेर्कड रहेको छ । आयोजकले यस प्रतियोगिता आयोजना गर्न १५ लाख खर्च हुने अनुमान गरिएको छ । यस प्रतियोगिताको संयोजकमा वीर गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंह र व्ययवस्थापनमा राजन खत्री छन् ।