काठमाडौँ, जेठ २७ गते । काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको छ । आपूर्तिकर्ताले ल्याएको पिउने पानी जाँचका क्रममा अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको महानगरले जनाएको छ ।
महानगरको कृषि तथा पशुपक्षी विभागले आपूर्तिकर्तालाई खारेजीको पत्र पठाएको हो । पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजलाई कृषि तथा पशुपक्षी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।
पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भई दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’
पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो । कोलिफर्म जीवाणु दिसामा पाइन्छ । बर्खायाममा पिउने पानीमा यस्तो जीवाणु भेटिने गर्छ । यस्तो जीवाणु भएको पानीलाई पिउन र प्रयोग गर्न अयोग्य मानिन्छ ।