फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २७ गते। नेसपा (नयाँ शक्ति) कास्कीका केही नेता मङ्गलबार नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो सम्मेलनको उद्घाटन सत्रमा नेसपा (नयाँ शक्ति)का केन्द्रीय सचिवालय सदस्य किरण थापा, पोखरा महानगर संयोजक राजु क्षेत्री, केन्द्रीय सदस्य शम्भु खाती लगायतका नेताहरूलाई माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमार्फत समाजवादी क्रान्ति पूरा गर्न माओवादी केन्द्र लागि परेको उल्लेख गर्नुभयो। “नेपाली विशेषतासहितको समाजवादी क्रान्ति पूरा गर्ने दायित्व माओवादी केन्द्रमा छ,” उहाँले भन्नुभयो, “हामीले चलाएका अभियानमा जनताको उल्लेख्य साथ पाएका छौँ। विचार मिल्ने शक्तिहरूसँग एकता पनि गरिरहेका छौँ।”
माओवादी केन्द्र प्रवेश गर्नुभएका नेसपा (नयाँ शक्ति)का तत्कालीन केन्द्रीय सचिवालय सदस्य थापाले क्रान्तिको कार्यभार पूरा गर्न माओवादीमा फर्किएको बताउनुभयो। “घर चिन्न घर छोड्नुपर्छ भन्ने गरिन्छ। केही समय घर छाडेपछि चिनेर फेरि हामी घरै फर्किएका छौँ,” उहाँले भन्नुभयो।