काठमाडौँ, जेठ २७ गते । नेपाल बुद्धिचाल महासङ्घको केन्द्रीय साधारण सभा वीरगन्जमा हुने भएको छ ।
महासङ्घको कार्य समितिको बैठकले १०औँ साधारण सभा आगामी भदौ १४ र १५ गते वीरगन्जमा गर्ने निर्णय गरेको हो ।
महासङ्घको विधान अनुसार हरेक तीन महिनामा बस्नुपर्ने कार्यसमितिको बैठक अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको थियो ।
बैठकले ७ गते भित्र आफ्ना ५५ जिल्ला सङ्घहरूलाई जिल्ला अधिवेशन गर्न निर्देशन गरेअनुसार सम्पन्न गरेका जिल्लालाई अनुमोदन गरिनुका साथै बाँकी रहेका जिल्लाहरूमा आवश्यकता अनुसार तदर्थ समिति गठन गर्ने निर्णय समेत गरेको छ।
साधारणसभा सम्पन्न गर्नको लागि उपाध्यक्ष श्याम ब्यन्जनकारको संयोजकत्वमा साधारणसभा तयारी उपसमिति र धन बहादुर बोगटीको संयोजकत्वमा बिधान संशोधन उपसमिति गठन गरेको छ ।
तयारी उपसमिति सदस्यहरूमा महासचिव धरमबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट , राजु ताम्राकार र सुशिला गुरुङ छन् भने बिधान उप समितिमा उपमहासचिव मोनालिसा खम्बु र बालाराम पुन रहनुभएको छ ।
यस्तै एसियन चेस फेडरेसनले स्वीकृति प्रदान गरिएको ५० राष्ट्र सहभागी हुने एसियन एमेच्योर अन्तरराष्ट्रिय बुद्धिचाल प्रतियोगिता आउदो चैत ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ।
यस्तै असार १६ गतेदेखि १९ गतेसम्म बुटवल उपमहानगरपालिका बुद्धिचाल सङ्घलाई सातौँ राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिने निर्णय गरेको छ।
यसैगरी महासङ्घको कार्यसमितिमा रिक्त उपाध्यक्ष पदको लागि पर्सा जिल्लाका मधेश प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव समेत रहेका शिवप्रसाद गुप्तालाई मनोनीत गरिएको छ भने सदस्य पदमा कास्की जिल्लाका राष्ट्रिय खेलाडी पूजा भण्डारीलाई मनोनित गरिएको छ।
महासङ्घको केन्द्रीय कार्यसमितिको बैठकले कोषाध्यक्ष ताराबहादुर रानाभाटलाई साधारण सभामा लेखा परीक्षण प्रतिवेदन पेस गर्ने कार्यका लागि आर्थिक संयोजकको रूपमा जिम्मेवारी प्रदान गरिएको छ।