• २८ जेठ २०८२, बुधबार

बढी भार बोक्ने गाडी नियन्त्रण गर्न प्रहरीको २४ घण्टे गस्ती

blog

बोमलाल गिरी

नवलपुर, जेठ २७ गते । बढी भार बोक्ने ठुला गाडीका कारण धमाधम पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरका पुल भाचिन थालेपछि प्रहरीले २४ घण्टा गस्ती गर्न थालेको छ ।

मर्मत गरी सञ्चालनमा आएको चोरमारास्थित गिरुवारी खोलाको पुलबाट बढी भार बोकेका गाडी चल्न रोक लगाउन २४ घण्टा प्रहरीले ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

प्रहरीले यो पुलबाट ४० टनभन्दा बढी भार बोकेका गाडी चलाउन प्रतिबन्ध लगाएको छ । निर्धारित तौलभन्दा बढी भार बोकेका गाडीलाई नियन्त्रणमा लिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराका अनुसार ४० टनभन्दा बढी भार बोकेका ११ वटा गाडीलाई दुम्कीवासमा होल्ड गरेर राखिएको छ । दुम्किवासबाट पास भएर आएका ९ वटा गाडीलाई कारबाही गरिएको छ भने दुई वटा गाडीको भार मिलान गरेर गन्तव्यतर्फ लागेका छन् ।

यीमध्ये दुई वटा मात्र नेपाली गाडी हुन् भने बाँकी सबै भारतीय नम्बर प्लेटका गाडी हुन् । बढी भार बोकेर आएका गाडीहरूलाई अर्को गाडीमा भार मिलाएर मात्र गन्तव्यमा जान दिइएको प्रहरी निरीक्षक बन्जराले बताउनुभयो ।

गाडीको क्षमता ४० टनमन्दा माथि बोक्न सक्ने भए पनि निक्कै पुराना र जोखिमपूर्ण पुलका कारण सडक विभागको निर्देशनमा यस्तो गर्नु परेको प्रहरी प्रमुख ढकालले बताउनुभयो ।

भार नियमन गर्ने उपकरण भने प्रहरीसँग छैन । गाडीहरूले बोकेको बिल, भन्सार विभागले निर्धारण गरेको तौल र बेल्डहियामा रहेको धर्मकाँटाले लिएको तौलका आधारमा भार एकिन गर्ने गरिएको ढकालको भनाइ छ।

नवलपुरमा होङ्सी र सिजी सिमेन्टबाट आउने ठुला गाडीमा भारको समस्या हुने गरेको प्रहरीको भनाइ छ । बढी भार बोकेका गाडीहरुका कारण दुम्कीवासको विनयी खोलार चोरमाराको गिरुवारी खोलाको पुल भाँचिएपछि प्रहरीले कडाइ गरेको हो ।