• २८ जेठ २०८२, बुधबार

सर्लाहीको चुरेभेगका ७०० घरधुरीमा बिजुली पुग्न बाँकी

blog

चुरेभेगस्थित हरिवन–१, केराबारी फेदीमा काठको पोल हटाएर पक्की पोल हालिएको ठाउँ । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ २७ गते । सर्लाहीको चुरेवर्ती क्षेत्रका करिब ७०० घरधुरीमा बिजुली पुग्न बाँकी छ । 

भौगोलिक हिसाबले विकट रहेको चुरेपाखाका स्थानीय बिजुली नहुँदा अहिले पनि सोलार र टुकी बत्तीको भरमा छन् । नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रका अनुसार लालबन्दी नगरपालिकाको वडा नं. १३, १४ र १५ मा मात्र ६१० घरधुरीमा बिजुली बत्ती पुगेको छैन । 

लालबन्दी नगरपालिका कार्यालयले लालबन्दी १३ मा ३५ घरधुरी, लालबन्दी १४ मा ३७५ घरधुरी र लालबन्दी १५ मा २०० घरधुरीमा विद्युतीकरणको माग गरेको छ । ती ठाउँमा बिजुली पुर्‍याइदिन माग गर्दै गएको चैतमा नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रमा पत्र बुझाएको थियो । 

सर्लाहीकै ‘कर्णाली’ भनिने लालबन्दी १४ नारायणखोलामा ७७५ घरधुरीमध्ये अझै ३७५ घरधुरीमा बिजुली पुग्न बाँकी रहेको नगरपालिका कार्यालयले जनाएको छ । चुरेको ठुलो भू–भाग पर्ने नारायणखोलामा डाइनी खोला, मगनी खोला, पन्ध्र बिघा, होमाने डाँडा, सतास, मटरखोला शिर, कामिटार शिर, लखन्देही शिरलगायत दुई दर्जन बढी बस्तीमा बिजुली पुग्न बाँकी रहेको वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो । 

वडाभित्र ७७५ घरधुरीमध्ये अहिलेसम्म ४०० घरधुरीमा मात्रै बिजुली पुगेको र बाँकी घरधुरीका स्थानीय सोलार तथा टुकी बत्तीको भरमा बसिरहेको वडाध्यक्ष घिसिङले बताउनुभयो । “भौगोलिक हिसाबले सारै दुर्गम ठाउँ छ, त्यहीँमाथि बिजुली बत्तीधरी नहुँदा स्थानीय एक शताब्दी अघिका पुस्ताकै झैँ जीवनयापन गर्न बाध्य छन्,” वडाध्यक्ष घिसिङले भन्नुुभयो, “बिजुली मात्रै पुर्‍याउन पाए स्थानीयको दैनिकी सहज हुन्थ्यो ।” 

लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलले आफ्नो वडाको बाहुने डाँडा, धुनधुने, फलाके, बाघ दमार, माझ खोला, ढाप खर्क, डालो पाखा, सानो फूलजोरलगायत एक दर्जन पाखाका बस्तीमा बिजुली पुग्न बाँकी रहेको जानकारी दिनुभयो । यस्तै बागमती नगरपालिका–१, मा वाइवा डाँडा, हर्‍याम झ्याल र पिपल डाँडामा बिजुली पुग्न बाँकी रहेको वडा कार्यालयले जनाएको छ । 

तीनवटा बस्तीका करिब ५० घरधुरीमा बिजुली विस्तार गरिदिन माग गर्दै प्राधिकरणको लालबन्दी वितरण केन्द्रमा पत्र लेखेर बुझाइएको वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले बताउनुभयो । चुरेको ठूलो भू–भाग पर्ने ईश्वरपुर नगरपालिका १२ र हरिवन नगपालिका १ मा भने लगभग सबैजसो घरधुरीमा बिजुली पुगिसकेको पाइएको छ । 

हरिवन नगरपालिका १ का वडाध्यक्ष टमबहादुर घिसिङले आफ्नो वडाभित्र सबैजसो घरधुरीमा बिजुली पुगेको तर २०० थान जति बिजुलीको पोल व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । वनमारा, केराबारी, बेलडाँडा, सखुवनी, बिलन्दीलगायत क्षेत्रमा बिजुलीको पोल बिस्तार गरिदिन प्राधिकरणको लालबन्दी वितरण केन्द्र र ठेकेदारलाई एक वर्षदेखि ताकेता गरिरहे पनि सुनुवाई नभएको वडाध्यक्ष घिसिङको गुनासो छ ।

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवनकुमार यादवले चुरेपाखाका सबै क्षेत्रमा बिजुली पुर्‍याउन केन्द्रीय कार्यालयमा बजेट माग गरिएको बताउनुभयो । वितरण केन्द्र प्रमुख यादवले चुरेपाखामा एक घरबाट अर्को घर निकै टाढा पर्ने र मानिस जान समेत मुस्किल पर्ने डाँडापाखा रहेकाले काम गर्न निकै समस्या रहेको बताउनुभयो । 

वितरण केन्द्र प्रमुख यादवले भौगोलिक विकटता र बजेट धेरै लाग्ने भएकाले चुरेभेगमा अहिलेसम्म बिजुली पुग्न नसकेको स्वीकार गर्नुभयो । “चुरेभेगमा छरिएर रहेका घरहरु रहेकाले बिजुली बत्ती पु¥याउन असाध्य धेरै बजेट चाहिन्छ,” वितरण केन्द्र प्रमुख यादवले भन्नुभयो, “जहाँजहाँ बत्ती पुगेको छैन्, त्यहाँ बिजुली पुर्‍याउन फाइल उठाएर ‘हेड अफिस’मा पठाएका छौँ ।” 

प्राविधिकका अनुसार बिजुली पुगेको चुरेवर्ती क्षेत्रमा बिजुली सर्ट हुने, पोल ढल्ने, तार चुँडिनेजस्ता प्राविधिक समस्या आउँदा खोला, खोल्सी र डाँडापाखाको बाटो भएर जानुपर्ने भएकाले मर्मतका लागि पुग्न समेत सारै समस्या हुने गरेको छ । भौगोलिक रुपमा विकट र दुरीको हिसाबले लालबन्दीदेखि टाढा पर्ने भएकाले चुरेक्षेत्रमा कुनै खराबी उत्पन्न भइ बिजुली अवरुद्ध हुँदा प्राविधिक आउन धेरै दिन लगाउने गरेको स्थानीयले गुनासो गरेका छन् ।