हुम्ला समाचारदाता
हुम्ला, जेठ २७ गते । कर्णाली कोरिडोरको हुम्लामा पर्ने बोक्चेगौँडादेखि याङ्चुकुना सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । सो सडकमा सेनाले विस्फोट गर्ने, जेसिभीबाट सफा गर्ने, विस्फोटका लागि होल खोप्ने कार्य धमाधम गरिरहेका कारण निर्माण अन्तिम चरणमा पुगेको हो ।
उक्त क्षेत्रको सडकको स्तरोन्नति गर्ने कार्यको जिम्मेवारी पाएको नेपाली सेना विकासनिर्माण दलका गुल्मपति अम्रित पराजुलीका अनुसार बोक्चेगौँडामा पाँच मिटर कडा चट्टानलाई तल झार्ने कार्य पूरा भएको छ । अब तीनदेखि चार राउन्ड विस्फोट गर्नेबित्तिकै सो खण्डको सडकको निर्माण पूरा हुने उहाँले बताउनुभयो ।
उहाँले याङ्चुकुनादेखि भिगौँडासम्मको चार सय मिटर सडकको स्तरोन्नति गर्ने कार्य पूरा भएको बताउनुभयो । सो सडक आठदेखि १० मिटर चौडा रहेको छ । यता भिगौँडामा पनि सिस्फोट गर्ने कार्य जारी रहेको छ । उक्त क्षेत्रमा सडक सिधा लिनुपर्ने भएका कारण केही समय लाग्ने छ । याङ्चुकुनाको काम सकिएको र बोक्चेगौँडाको काम अन्तिम चरणमा पुगेकाले अब सबै जनशक्ति र मेसिन पनि भिगौँडामा परिचालन गरिने उहाँले बताउनुभयो ।