नेपालगन्ज समाचारदाता
नेपालगन्ज, जेठ २५ गते । इस्लाम धर्मावालम्बीको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा शनिबारदेखि सुरु भएको छ । तीन दिनसम्म धुमधामका साथ मनाइने यो पर्वलाई कुर्बानी र बलिदानको पर्व पनि भनिन्छ । शनिबार बिहान स्थानीय इदगाहमा बकर इदको सामूहिक नमाज पढेर सुरु भएको यो पर्व तीन दिनसम्म खसी, भेडा र राँगा जस्ता जनावर हलाल गरेर कुर्बानी गरी तेस्रो दिन समापन गरिने परम्परा रहेको छ ।
इस्लाम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मञ्जरीका अनुसार त्याग, बलिदान र कुर्बानीको पर्वका रूपमा मनाइने यो पर्वको अन्य पर्वभन्दा विशेष महत्व रहेको छ । इदगाहमा आयोजना गरिएको सामूहिक नमाजपछि मुलुकमा धार्मिक सद्भाव, शान्ति, अमनचैन तथा आर्थिक विकासको कामना गर्दै विशेष दुआ मागिएको थियो ।
सो अवसरमा शुभकामना साटासाटका लागि बिपी चोकस्थित स्थानीय इदगाहमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान, पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधिसहित सुरक्षा निकायका प्रमुखसमेत पुग्नुभएको थियो ।
सो अवसरमा पूर्वमन्त्री राईले सद्भाव र आपसी भाइचाराको पर्वलाई सबैले मिलेर मनाउन पाउँदा गर्व लागेको बताउनुभयो । बकर इदमा कुर्बानी (पशुबलि) दिने चलन भएकोले कुर्बानी गराउने आर्थिक रूपमा क्षमता राख्ने हरेक मुस्लिमले आआफ्नो घरमा खसी, भेडा वा राँगा जस्ता जनावरको कुर्बानी गराउनुपर्ने धर्मगुरुको भनाइ छ ।
धार्मिक गुरु मौलाना मञ्जरीले भेडा र खसी जस्ता साना जनावरमा एक जनाको नाममा मात्र कुर्बानी हुने चलन रहेको तथा राँगा र उँट जस्ता ठुला जनावरमा सात जना मिलेर कुर्बानी गराउन सकिने परम्परा रहेको बताउनुभयो ।
उहाँले कुर्बानी गराएको मासु तीन भागमा छुट्याएर एक भाग गरिबलाई बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिनुभयो । मुस्लिम सुमदायमा जोसँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो बराबरको धनसम्पत्ति छ र कुनै ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रूपमा बकर इदमा कुर्बानी गराउनुपर्ने धार्मिक नियम रहेको धर्मगुरुको भनाइ छ ।