• २४ जेठ २०८२, शनिबार

बहुधर्मले समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ : उपाध्यक्ष घिमिरे

blog

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे

काठमाडौँ, जेठ २४ गते । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

ईद उल अज्हा (बकर इद)को अवसरमा शनिबार सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवम् प्रगतिको शुभकामना दिँदै उहाँले सन्देशमा भन्नुभएको छ, “बकर इद त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने पर्व हो र यो पर्वले सेवाभावका कार्य आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विस्वास लिएको छु ।” असहाय, गरीब र विपन्न परिवारलाई अनिवार्य रूपमा सहयोग गर्नुपर्ने मान्यता मुस्लिम दर्शनमा छ । जसलाई उदाहरणीय रूपमा लिइन्छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामीले संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि राष्ट्रिय मुस्लिम आयोगको गठनसँगै मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक बन्दै गएको विश्वास लिएको छु ।” रासस