चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २२ गते। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा रहेको जिल्ला हो ताप्लेजुङ। कञ्चनजङ्घा हिम शृङ्खलासँगै फुङफुङ्गे झरना, सिँजेमा ताल, तिम्बुङ पोखरीलगायत थुप्रै पर्यटकीयस्थल तथा विशेष संस्कार संस्कृतिका कारण ताप्लेजुङ एक पर्यटकीय भूमिका रुपमा पनि परिचित रहेको छ।
कञ्चनजङ्घासहितका पर्यटकीय गन्तव्य साथै यहाँको बहुसंस्कृति र संस्कारले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ। थुप्रै पर्यटकीय स्थलहरुबिच संस्कार, संस्कृति र पहिचानको उजागर गर्दै पर्यटकीय गन्तव्यकै रुपमा विकास गर्नेगरी धान नाच स्तम्भ (ताक्वाचङ याःराक्मा तेन) पार्क स्थापना गरिएको छ। सदरमुकाम फुङ्लिङ बजारको हटिया लाइनमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच स्तम्भ पार्क स्थापना गरिएको हो।
मौलिक संस्कृति झल्कने धान नाच स्तम्भ तथा प्रतिमासहितको पार्क निर्माणले संस्कृतिको उजागर र संरक्षण गर्नमा टेवा पुगेका छ। धान नाच पार्कले पर्यटकलाई आकर्षित गराएको छ भने विस्तारै पर्यटकको उपस्थिति पनि बाक्लिँदै गएको छ। लिम्बू संस्कतिमा आधारित दुई पुरुष र दुई जना महिलाले एकापस हात समाएर धान नाच प्रस्तुत गर्दै गरिहेको प्रतिमाले पर्यटकलाई आकर्षित गरेको छ।
यस्तै पृष्ठभूमिमा कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल र प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) धामको प्रतिमा झल्किने आकृति चित्र निर्माण गरिएको छ। साथै संस्कार संस्कृतिकै पहिचान झल्काउनेगरी राई, लिम्बू, तामाङ, मगर, सुनुवारलगायत जनजाति समुदायको भेषभूषा र पहिरन लगाएका नागरिकको कलात्मक चित्रले पर्यटकलाई थप आकर्षित गराएको छ। लिम्बू समुदायकै सांस्कृतिक नृत्य च्याब्रुङ नाच (केःलाङ) को कलात्मक चित्र पनि पार्कमा निर्माण गरिएको छ।
लिम्बू जातिको संस्कृतिमा आधारित धान नाच (याःलाङ) र च्याब्रुङ नाच (केःलाङ) वैवाहिक लगायतका शुभकार्य, मेला, महोत्सवजस्ता कार्यक्रम र अवसरमा प्रस्तुत गर्ने गरिन्छ। यवायुवतीसँगै सबै उमेर समूहकाले एक अर्काको हात समाएर पालाम गाउँदै धान नाच्ने गरिन्छ। त्यस्तै च्याब्रुङ एक प्रकारको बाजा र झ्याम्टा बचाउँदै मौलिक पोशाक लगाएर च्याब्रुङ नाच प्रस्तुत गरिन्छ। यिनै मौलिक संस्कार संस्कृतिमा आधारित स्तम्भ र कलात्मक चित्र रहेकाले पार्कप्रति पर्यटकको आकर्षण बढ्दै गएको हो।
आदिवासी जनजाति समुदायको संस्कार संस्कृति झल्किने कलात्मक प्रतिमा र चित्रले सबै समुदायका नागरिक तथा पर्यटकलाई आकर्षित गराएको छ। धान नाच पार्कमा रहेको आदिवासी जनजाति विशेष प्रतिमा तथा चित्र अवलोकनका साथै अध्ययन र अनुसन्धानका लागि स्रोत भएकाले पनि पर्यटक तथा आगन्तुकका लागि एक महत्वपूर्ण केन्द्र बनेको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। यस पार्कमा रहेको प्रतिमा, आकृति तथा चित्रले छुट्टा–छुट्टै समुदायमा आधारित संस्कार संस्कृतिबारे बुझ्ने र जानकारी लिने अवसरका रुपमा लिन सकिने पर्यटन व्यवसायी हर्कराज गुरुङको भनाइ छ।
यस्तै कलात्मक प्रतिमा र आकृति चित्रसहितको पार्क स्थापनाले मौलिक संस्कार संस्कृतिको संरक्षणमा टेवा पुग्नुकासाथै सम्बन्धित समुदायका नयाँ पुस्ताका लागि अनुशरण गर्न र मौलिक संस्कृतिबारे जानकारी राख्ने थलो (स्थल) बनेको स्थानीय अगुवा कीर्तिमान मादेनले बताउनुभयो। आधुनिकतासँगै नयाँ पुस्ताले आफ्नो मौलिक पहिचान, संस्कार र संस्कृति बिर्सिँदै गएको अवस्थामा पार्कले संस्कृति उजागर गर्नमासमेत सहयोग पुग्ने मादेनको भनाइ छ।
सदरमुकाम बजारसँगै धान नाच पार्क रहेकाले ताप्लेजुङ भित्रिने जो कोही पाहुना तथा आगन्तुकले भ्रमण गर्ने गरेका छन्। यद्यपि, प्रयाप्त पर्यटकको उपस्थिति हुन सकेको छैन। हालसम्म आवश्यक प्रचारप्रसार र पर्यटकको पर्खाइमै धान नाच पार्क रहेको छ। उक्त पार्क भने लिम्बू समुदायको जातीय संस्था किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा ताप्लेजुङ शाखाले निर्माण गरेको हो।