काठमाडौँ, जेठ २२ गते । काठमाडौँ महानगरपालिका–४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माविले जितेको छ ।
बालुवाटारमा बिहीबार सम्पन्न प्रतियोगितामा सर्बाधिक ७६ अङ्क जोड्दै बाँसबारीले उपाधि जितेको हो । हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापडि चेसको ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अङ्कको आधारमा बाँसबारी च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल (एनसीसीएस) ५३ अङ्क सहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अङ्क जोड्दै तेस्रो भयो ।
व्यक्तिगत स्पर्धामा बाँसबारीकी सिमरन कार्की छात्रामा पहिलो हुनुभयो । बाँसबारीकै सुप्रिया मोक्तान दोस्रो र धुम्रवराही माविकी सन्ध्या कुमारी शाह तेस्रो हुनुभयो । छात्रतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी पहिलो र एनसीसीएसका अर्णव मानन्धर दोस्रो हुनुभयो ।
विजेतालाई काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन, चेसकी पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बूलगायतले पुरस्कार प्रदान गर्नुभयो ।