प्रकाशविक्रम शाह
धनगढी, जेठ २१ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रलाई समेटेर विकासको खाका तयार गर्नुपर्ने बताउनु भएको छ।
आगामी असोजमा हुने सुदूरपश्चिम लगानी तथा विकासको तयारी सम्मेलनको बुधबार धगढीमा उद्घाटन गर्दै उहाँले अहिलेको युग सरकारले कस्तो विकास गर्ने, कसरी विकास गर्ने भन्ने छलफल समेत निजी क्षेत्रसँग गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो।
उहाँले अब विश्व बैँक, एसियाली विकास बैँक मात्र नभएर लगानी गर्ने अन्य दाता पनि खोज्न जरुरी रहेको बताउनुभयो। पहाडमा विकास भएको तर मान्छे पहाडमा बस्न छोडेको भन्दै उहाँले त्यो कुरालाई समेत ध्यानमा राखेर एकीकृत विकास गर्नुपर्छ भन्नेमा उहाँले जोड दिनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारले रोजगारी पनि बढ्ने, राजश्व पनि सङ्कलन हुने अपेक्षा सहित बेतन कर्णाली जल विद्युत् आयोजना आफै सञ्चालन गर्ने आकाङ्क्षा राखेको चर्चा गर्दे परराष्ट्रमन्त्री डा. देउवाले त्यो विषयमा सङ्घीय सरकारले छलफल गर्ने बताउनुभयो।
उहाँले सुदूरपश्चिम फाप्ला क्रिकेट मैदान बन्ने चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘भारतको समेत सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदान बनाउँदैछौं, यसमा प्रदेश सरकारको समेत उल्लेख्य सहयोग छ।’’
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको लगानी सम्मेलनको पूर्व तयारी कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, विभिन्न देशका राजदूत, विश्व बैँक, एशियाली विकास बैँक लगायतका दातृ निकायका नेपाल प्रमुख, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको सहभागिता रहेको छ।