अविनाश चौधरी
धनगढी, जेठ २१ गते। कैलालीको कैलारी गाउँपालिकाले भोलि (बिहीबार) स्थानीय सार्वजनिक बिदा दिएको छ।
गङ्गा दसहराको अवसरमा कैलारीले पालिकामा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो। गङ्गा दसहरा ऐतिहासिक र धार्मिक पर्वको रूपमा विशेष आस्था र महत्त्वका साथ मनाउँदै आएको भन्दै सो पालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैँक तथा वित्तीय संस्थामा बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद मिश्रले जानकारी दिनुभयो।
गङ्गा दसहराको अवसरमा कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा धार्मिक मेला लाग्ने गर्दछ। सो मेला अवलोकन र बेहडाबाबा मन्दिरको दर्शनका लागि नेपाल, भारतका दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ।
गङ्गा दसहराको अवसरमा धनगढी उपमहानगरपालिकाले भोलि स्थानीय सार्वजनिक बिदा दिएको छ। यसैगरी, गङ्गा दसहराकै अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिकाले एक दिन र लालझाडी गाउँपालिकाले जेठ २२ र २३ गरी दुई दिन स्थानीय सार्वजनिक बिदा दिएका छन्। बेलौरी नगरपालिका–५ भकुण्डास्थित कालेश्वर महादेव बाबा मन्दिरमा लाग्ने धार्मिक मेला अवलोकनका लागि दुवै पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन्।