रजनी योगी
सुर्खेत, जेठ २१ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । बुधवार वीरेन्द्रनगरमा भएको सहकारी सुशासन प्रवर्धन सम्बन्धी कर्णाली प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याको पहिचान गरी समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले सहकारी सङ्कटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बदमास गर्ने सहकारीको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । मन्त्री अधिकारीले सहकारीले विधि विधान भन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताउनुभयो । उहाँले ३१ हजार सहकारीमा २० वटा भन्दा बढीले बदमास नगरेको दाबी गर्नुभयो ।
उहाँले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी अभियान तथा अन्य सम्बन्धित निकायले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनोदकुमार शाहले सहकारी अर्थतन्त्रको खम्बा भएको बताउनुभयो । हल्ला चलेको जसरी कर्णालीमा भने सहकारीले बदमासी नगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘प्रदेशमा ३११ वटा सहकारी छन, एक-दुई वटा बाहेक सबैले राम्रै काम गरिरहेका छन्, सहकारीबारे नागरिक स्तरसम्म सचेतना पुर्याउन जरुरी छ ।’राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवि मल्लले सरकारले महासंघको हितको लागि न्यून मात्र बजेट विनियोजन गर्नेगरेको बताउनुभयो । जसले गर्दा सहकारीको बारेमा जनतासम्म कार्यक्रम लिन नसकिएको उहाँको भनाइ छ ।