• २३ जेठ २०८२, शुक्रबार

हाते ट्याक्टरले खेत जोत्न पाउँदा किसान उत्साहित

blog

छत्रेश्वरी गाउँपालिकाको प्राङ्गण भोटेचौरमा मिनी ट्रिलर वितरण कार्यक्रम। तस्बिरः शंकर केसी

 शंकर केसी

सल्यान, जेठ २१ गते। “गोरुले जोत्न घण्टौं लाग्थ्यो, अब भने केही घण्टामै काम सकिने भयो”, सल्यानको छत्रेश्वरी गाउँपालिका–७ रावत गाउँका किसान रामबहादुर रानाले उत्साहित हुँदै भन्नुभयो। गाउँपालिकाबाट अनुदानमा खेतबारी जोत्ने मेसिन पाएपछि खेतीपातीको काम सजिलो हुने भन्दै उहाँ खुसी देखिनुभएको हो।

यस्तै साङ्घारमुलस्थित तरकारी उत्पादन कृषक समूहका सचिव कृपाराम वली पनि राहत महसुस गरिरहनुभएको छ। “काँक्रा, सिमी, बोडी, खुर्सानी, तिते करेला लगाएतका तरकारी खेती गर्ने हामी जस्ता व्यावसायिक किसानलाई हाते ट्याक्टरले जमिन जोत्दा समय र श्रम दुवै जोगिनेभएको छ”, उहाँले भन्नुभयो।

छत्रेश्वरी गाउँपालिकाका ३९ जना कृषक समूह, सहकारी तथा व्यावसायिक कृषकले ५० प्रतिशत अनुदानमा मिनि टिलर पाएका हुन्। अझै पनि परम्परागत उपकरणको प्रयोग गर्दै आएका किसानहरूले अब आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादनमा वृद्धि गर्नुपर्छ भन्ने सोच बनाएका छन्।

यस अघिका दुई वर्षमा ३८ वटा मिनी ट्रिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छत्रेश्वरी गाउँपालिकाले यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएको हो। छत्रेश्वरी गाउँपालिका तथा वडा तर्फको कार्यक्रम अनुसार वितरण गरिएका मिनी ट्रिलरले किसानहरूलाई खेतीपातीमा ठुलो सहजता मिल्ने गाउँपालिकाको विश्वास छ। 

गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीका अनुसार सल्यानजस्तो भौगोलिक बनावट भएको क्षेत्रमा ठुला ट्याक्टर प्रयोग गर्न असहज भएकोले हाते ट्याक्टर नै उपयुक्त विकल्प देखिएको छ। उहाँले भन्नुभयो, “मेसिन वितरणपछिको प्रयोग अवस्थाबारे गाउँपालिकाले निरन्तर अनुगमन गर्छ। समूहका सबैले उपयोग गर्न आग्रह गरेका छौँ।” 

गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्रीले विगतदेखि नै कृषि यान्त्रीकरणमा जोड दिइँदै आएको भन्दै मागअनुसार आगामी वर्ष थप किसानलाई पनि वितरण गरिने जनाउनुभयो।

मेसिन वितरणसँगै किसानलाई यसको सही प्रयोग, मर्मत, इन्धनको खपत तथा सुरक्षाका उपायसम्बन्धी जानकारीसमेत दिइएको थियो। श्रमशक्ति घट्दो अवस्थामा रहेका पहाडी गाउँहरूमा यस्तो कार्यक्रमले कृषकको जीवनस्तरमा सुधार ल्याउनुका साथै बाँझो जमिन उपयोग गर्दै उत्पादन वृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।