धर्बेन्द्र झा
जनकपुरधाम, जेठ २१ गते । स्थानीय र मधेश प्रदेश सरकारको समन्वयमा लाइफ नेपालले धनुषाको आठ वटा पालिकामा सञ्चालन गरेको बालविवाह निषेधीकरण तथा बालिका शिक्षा प्रवर्धन परियोजना अन्तर्गत बुधबार चालिस जना किशोरीहरूलाई डिजिटल-वित्तीय साक्षरता तथा उद्यमशीलताको तालिम दिइएको छ ।
गल्र्स फस्ट फोण्डको सहयोगमा लाइफ नेपालले ग्लोबल आइएमइ बैँकसँग सहकार्य गरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा कक्षा ८ देखि कक्षा १० सम्ममा अध्ययन गरिरहेका चालिस जना किशोरीहरूलाई प्रविधिको प्रयोग सम्बन्धी तालिम दिइएको बालविवाह निषेधीकरण तथा बालिका शिक्षा प्रवर्धन परियोजनाका परियोजना प्रमुख डली शर्माले जानकारी दिनुभयो । उहाँले अहिलेको युग डिजिटल युग रहेको र अहिले प्रविधिको प्रयोग बढ्दो रहेकोले किशोरीहरूलाई समय सापेक्ष त्यसको ज्ञान हुनु आवश्यक ठानेर तालिमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले अहिलेको समयमा प्रविधिको ज्ञान नभएपछि जीवनमा विभिन्न कामकाज गर्नका लागि मान्छेलाई विभिन्न खालका समस्याहरू हुने गरेको भन्दै त्यस्ता समस्या हुन नदिन तथा किशोरीहरूलाई हरेक क्षेत्रमा सशक्त बनाउनका लागि यस प्रकारको तालिमको आयोजना गरिएको बताउनुभयो ।
तालिमका प्रशिक्षक ग्लोबल आइएमई बैँक जनकपुरधाम शाखाका प्रमुख रिसी लोहनीले मोबाइलको प्रयोग गरी वितिय कारोबार गर्दा समयको पनि बचत हुने र सुरक्षित पनि हुने भएकोले किशोरीहरूलाई क्यूआर कोड, मोवाइल बैंकिङ ,आइपिएस लगायतका विषयमा तालिम दिइको र यसले गर्दा किशोरीहरूलाई आफनो घर परिवारको साथै आफनो कामकाज गर्नमा मदत पुग्ने बताउनुभयो ।
तालिमको क्रममा किशोरीहरूलाई समाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनु पर्ने विषयवस्तु, कहिकतै भुक्तानी गर्नु परेमा मोबाइलबाट भुक्तानी कसरी गर्ने विषयमा प्रशिक्षक पुजाधामीले प्रशिक्षण दिनुभएको छ । प्राविधिक ज्ञानको अभावमा किशोरीमाथि विभिन्न किसिमको साइबर क्राइमका घटनाहरू हुने गरेको भन्दै लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले यस प्रकारको तालिम प्राप्त गरेपछि किशोरीहरूले आफूलाई साइबर क्राइमको घटनाहरू पनि जोगाउन सकिने बताउनुभयो ।
अध्यक्ष ठाकुरले प्रतिनिधिमुलक रूपमा सहभागी भएका किशोरीहरूले तालिम प्राप्त गरेपश्चात आफूले सिकेका विषयवस्तुको वारेमा अन्य किशोरीहरूलाई सिकाउने र यसले किशोरीहरू शसक्त हुने धारणा राख्नुभयो ।