• २३ जेठ २०८२, शुक्रबार

बरुण नदीको पुल निर्माण अलपत्र

blog

ढलान नहुँदा अलपत्र अवश्थामा रहेको भोटखोला गाउँपालिका ४ को बरुण नदीमा ६० मिटर लामो पक्की पुल ।

सुजन बज्राचार्य

खाँदबारी (सङ्खुवासभा), जेठ २१ गते । सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ स्थित बरुण नदीमा तीन वर्षअघि सुरु भएको ६० मिटर लामो पक्की पुलको निर्माण अझै अधुरै छ । पुलको ढलान गर्न बाँकी हुँदा बरुण नदी वारपार गर्न स्थानीयवासीले ठुलो सास्ती भोग्नुपरेको छ ।

पुल ठड्याउने काम सकिएको भए पनि निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा ढलानको काम रोकिएको हो । हिउँदमा बरुण नदीमा ह्युमपाइप राखेर साना सवारी साधन चलाइए पनि वर्षातकाे समयमा नदीमा आएको बाढीले पाइप बगाउने गरेको छ । “बरुणमा लगाइएको ह्युमपाइप बगाइसक्यो, “भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले भन्नुभयो, “ढलान गरिदिएको भए सहजै पुलबाट गाडी तथ्र्यो ।“

२०७८ चैत २ मा उत्तर–दक्षिण कोशी सडक योजनामार्फत सुरु गरिएको पुल निर्माणको ठेक्का हिन्दुङ एन्ड थोकर-विवस-एसए एस कम्पनीले लिएको हो । गत वर्षको चैतमा निर्माणको पहिलो म्याद सकिँदा दुवैतर्फका चर मात्रै उठाइएको थियो । पुनः म्याद थपेर असार मसान्तसम्मका लागि दिएको समय पनि अन्तिम चरणमा पुगेको छ, तर निर्माण कम्पनी सम्पर्कविहीन बनेको गाउँपालिका अध्यक्ष भोटेको भनाइ छ ।

च्याम्ताङका स्थानीय छिरुक भोटेका अनुसार पुल निर्माण नहुँदा भोटखोलाका हटिया, हुंङगुङ लिङ्गम, चेपुवा, च्याम्ताङ, छुम्सुर, रिदाक, छुदाम र किमाथाङ्काका बासिन्दा खाँदबारीसँग सम्बन्ध विच्छेदको अवस्था रहन्छ, “भोटेले भन्नुभयो, “हिउँदमा ट्याक्टर आइपुग्थ्यो, तर वर्षात्मा बरुण नदी पार गर्न सकिँदैन, पुल नहुँदा हाम्रो दैनिक जीवन अस्तव्यस्त हुन्छ ।”

बरुण नदीपारिको हटियामा किराना पसल चलाउने भोटखोला–३ हटियाका छेरुक लामा भन्नुहुन्छ, “सामान ढुवानी गर्न गाह्रो हुन्छ, नुन तेलको मूल्य बढ्छ, भरियामार्फत सामान ल्याउनुपर्ने अवस्था आउँछ । उँहाका अनुसार खाँदबारीदेखि गोला बजारसम्म ८२ किलोमिटर सडकमा गाडी गुड्छ, तर त्यसपछिको दूरी पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

कोशी प्रदेशका पूर्वमन्त्री सङ्खुवासभा (क) क्षेत्रका माननीय राजेन्द्र कार्कीले सडकको ट्रयाक राम्रै भए पनि पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको बताउनुभयो । “कम्पनीले तोकिएको समयमा काम नगरेपछि पटक–पटक म्याद थपेर अलपत्र पारिएको छ,“उँहाले भन्नुभयो, “अब कडाइका साथ कारबाही गरेर अगाडि बढ्नुपर्छ ।”

पुल निर्माणका लागि १६ करोड रुपियाँ खर्च हुने अनुमान छ । उत्तर–दक्षिण कोशी सडक योजनाका सूचना अधिकारी नरेश जिरेलका अनुसार फाउन्डेसन र स्टिल संरचना तयार भइसकेको छ, बाँकी काम २०८२ को असारभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ । 

यसअघि उत्तर–दक्षिण कोशी सडक योजनाअन्तर्गत भोटखोला क्षेत्रमा ११ वटा पुल निर्माण भइसकेका छन् । खाँदबारीदेखि भोटखोलासम्म १६२ किलोमिटरको ट्रयाकमध्ये १५९ किलोमिटर सडक खुलिसकेको भए पनि एउटा अधुरो पुलकै कारण यस क्षेत्रको यातायात सञ्जाल पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।