कविराज घिमिरे
हिले, जेठ २१ गते । धनकुटाको दाह्रेगौंडा–घुमाउने–मूल खर्क सडक खण्डमा कालोपत्रेको काम सुरू भएको छ । डिभिजन सडक कार्यालय धनकुटाले दुई प्याकेजमार्फत छ करोड ४४ लाख रुपियाँको लागतमा नाला, पर्खाल मोड सुधार र कालोपत्रेको काम अघि बढाएको हो । २०५४ सालमा ट्रयाक खुलेको यो सडकमा चालु आर्थिक वर्षमा कालोपत्रे हुन लागेको हो ।
दाह्रेगौंडाबाट घुमाउने–मूलखर्क हुँदै लेगुवा जोड्ने ३१ किलोमिटरमध्ये यो आर्थिक वर्षमा पहिलो खण्डको १९ सय ५० मिटर सडक कालोपत्रे हुने छ । १९ सय ५० मिटरमध्ये दुई चरणमा गरी सात सय मिटर दुई करोड चार लाखमा र १२ सय ५० मिटर चार करोड ४४ लाखमा ठेक्का लागिका सुरु भएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।
सो क्षेत्रमा रहेको कृषि उत्पादन लाई ढुवानीमा सहज बनाउन तथा पर्यटकीय स्थलमा सहज पहुँचका लागि सडक स्तरोन्नतिकाे काम सुरु गरिएको सडक डिभिजन कार्यालय धनकुटाका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । महालक्ष्मी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदम रखालका अनुसार सडकले कृषिजन्य उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउन सकिने तथा सो क्षेत्रमा रहेको लेगुवा झरना तथा धर्मदेवी मन्दिरलाई फाइदा पुग्ने बताउनुभयो ।