धीरेन्द्रप्रसाद साह
जनकपुर, जेठ २१ गते । मधेश प्रदेशसभा बैठक बुधबार बस्दै छ । मधेश प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाका अनुसार यही जेठ ११ गते मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बसेको बैठकले मधेश प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरिएको थियो । सोही निर्णय बमोजिम मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो मिति र समयमा मधेश प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको छ ।
यता उक्त आह्वान भई आएकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) र (४) बमोजिम सम्पूर्ण प्रदेशसभा सदस्यलगायत सम्बन्धित सबैको जानकारीका लागि मधेश प्रदेशसभा सचिवालय जनकपुरधामले सूचना गरिसकेको प्रदेशसभा सचिव कोइरालाले जानकारी दिनुभयो ।
सभाको यस अधिवेशनले मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरी पारित गराउने योजनामा रहेको छ । आज बस्ने सभाको बैठकमा प्रतिपक्ष राजनीतिक दलले अवरोध गर्ने जनाएको छ । उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न भएको पूर्व सहमतिअनुसार सो समिति गठन नगरेकोले सदन चल्न नदिने पार्टीमा आन्तरिक सहमति भएको जनता समाजवादी पार्टी नेपालका सचिव शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।