वसन्त पराजुली
नारायणगढ, जेठ २१ गते । नेपाली सेनाले धार्मिक क्षेत्र देवघाटमा गौशाला निर्माण गरेर महेश सन्यास आश्रमलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत नयाँ सवुज गण भरतपुरले सो गौशाला निर्माण गरेको हो ।
महेश सन्यास आश्रम परिसरमा निर्माण भएको सो गौशालाको बुधबार देवघाटमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेटौँडाका पृतनापति उपरथी हरेन्द्र पाठकले उद्घाटन गर्दै आश्रमलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै पृतनापति पाठकले जनतासग नेपाली सेना अभियान अन्तर्गत गौशाला निर्माण गरिएको जानकारी दिनुभयो ।
“नेपाली सेना नागरिकको अभिन्न अङ्ग हो । देशलाई आई पर्ने विषम परिस्थितिमा नेपाली सेना जनतासग मिलेर अगाडि बढ्ने छ’’, उहाँले भन्नुभयो ।
नेपाली सेनाले ऐतिहासिक र पुरातात्विक वस्तुहरूको संरक्षणमा विशेष अभियान सञ्चालन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुुहुँदै महेश सन्यास आश्रमका पिठाधिस स्वामी रमणानन्द गिरीले धर्म संस्कृतिको संरक्षणमा सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।
नयाँ सवुज गणका गणपति प्रमुख सेनानी दिनेश लामाले गौशाला निर्माणका लागि १० लाख रुपियाँ खर्च लागेको जानकारी दिनुभयो । गणका सेनानी जितबहादुर थापाले नेपाली सेनाले विगतदेखि नै जनताप्रति समर्पित रहेको बताउनुभयो ।