काठमाडौँ, जेठ २१ गते । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरूले विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
सदनलाई अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शङ्का पैदा गरेको उल्लेख गर्नुभयो । नागरिकहरू सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उहाँको आरोप छ ।
प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘हामी सदनलाई अवरुद्धकै अवस्थामा लिएर गइरहेका छौँ । फेरि यही बेलामा मान्य गृहमन्त्रीज्यूले एकैदिन अख्तियारमा पठाएको प्रहरी अधिकारी एक पटक पठाएको फेरि अर्को पटक फिर्ता गरेको, यो खालको विषयवस्तु आएर एउटा ठुलो कन्फ्युजन भएको छ । हामीले छानबिन समिति आवश्यक पर्छ है । यो गम्भीर विषय वस्तु हो । सुशासन जस्तो कुरा हो । सुशासन समितिमा कुरा सुशासनको छ, जनता जम्मे सुशासन खोजी गरिरहेका छन् । त्यो बारेमा के हो भनाइ ?’’
प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरू छिटो टुङ्गो लगाउने गरी नलागेको आरोप लगाउनुभयो ।