• २३ जेठ २०८२, शुक्रबार

बन्दीपुरमा हलिउड चलचित्र ‘तासी’को छायाङ्कन

blog

फिल्ममा अभिनय गर्ने क्रममा स्थानीय कलाकारहरू । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ २१ गते ।
तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा स्वदेशी मात्रै नभई विदेशी फिल्मको छायाङ्कनको गन्तव्य बन्न थालेको छ । हलिउड फिल्म ‘तासी’को बन्दीपुरमा छायाङ्कन गरिएको छ । बन्दीपुर गाउँपालिका अध्यक्ष स्वदेशी फिल्म तथा म्युजिक भिडियो आकर्षणको केन्द्र बनिरहेकोमा हाल विदेशी फिल्मले सुटिङका लागि अनुमति माग्न थालेको जानकारी दिनुभयो ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित टासी फिल्मको छायाङ्कन बन्दीपुर भइरहेको अध्यक्ष थापाले बताउनुभयो । बन्दीपुरलाई बन्दीपुरको हालको स्वरूपका साथै पुरानो दार्जिलिङ स्वरूपमा सिङ्गारेर सुटिङ गरिएको अध्यक्ष थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, ‘‘छ महिना अघि बन्दीपुरमा आएर स्थलगत अध्ययन गरेर हडिउडको टोली फर्किएको थियो अहिले सुटिङका लागि आए खुसी लागेको छ ।’’  बन्दीपुरका मौलिक घरले प्राचीनताको पहिचान दिने भएको सुटिङका लागि हलिउड टोलीले अनुमति मागेको अध्यक्ष थापाले बताउनुभयो ।

‘तासी’ एक ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित चलचित्र हो जसले बन्दीपुरलाई भारतको ६० को दशकको दार्जिलिङ वा सिक्किम जस्तो शान्त, सुन्दर र सांस्कृतिक गन्तव्यको रूपमा देखाउने प्रयास गरेको छ । फिल्म सुटिङका लागि बन्दीपुरलाई ६० को दशकको दार्जलिङ बनाइएको छ । बन्दीपुरका घरहरू, होटल, त्यहाँका मानिसहरू, रहन सहन र संस्कृति सबै दार्जिलिङकै जस्तो बनाइएको छ । फिल्म छायाङ्कनका लागि बन्दीपुर बजार क्षेत्रका घरहरू प्रयोग गरे बापत निर्माण टोलीले दैनिक पाँच हजारदेखि ३० हजार रुपियाँसम्म घर धनीहरूलाई प्रदान गरेका छन् भने बन्दीपुर आसपासका विभिन्न उमेर समुहका करिब तीन सय जना स्थानीय बासिन्दाहरूलाइ दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म पारिश्रमिक दिएर कलाकारको रूपमा प्रयोग गरेका छन् ।

फिल्म छायाँकनका लागि तीन सय जना विदेशी प्राविधिकहरू विगत एक हप्तादेखि बन्दीपुरमा रहेका कारण बन्दीपुरका सबै प्रकारका होटलहरू भरिभराउ रहेको पर्यटन व्यवसायी तथा तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइका अध्यक्ष घनश्याम उपाध्यायले जानकारी दिनुभयो । यस फिल्मले विदेशमा बन्दीपुरको प्रचार प्रसारमा टेवा पुग्ने भएकोले आगामी दिनमा पर्यटक बढ्ने आशा जागेको उपाध्याय बताउनुहुन्छ ।

उक्त चलचित्रको छायाङ्कनबाट बन्दीपुरले छाँयाङ्कन अवधिभर करिब एक करोड बराबरको आर्थिक लाभ लिन सक्ने बताइएको छ । यो फिल्मले बन्दीपुरको प्राकृतिक सौन्दर्य, पुरानो शैलीको बस्ती, हिमालको दृश्य, संस्कृति र जीवनशैलीलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने  बताएको गाउँपालिकाले जनाएको छ । उहाँले फिल्मको प्रर्दशनीपछि बन्दीपुर विश्वभर परिचित बनाउन थप टेवा पुग्ने बताउनुभयो । यसले बन्दीपुरको पर्यटनलाई उचाईमा पुर्‍याउने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैस गुरुङले बताउनुभयो ।

बन्दीपुरले मौलिकता जोगाइराखेकोले गर्दा हडिउड फिल्मका लागि छनोटमा पर्न सफल भएको उहाँ बताउनुहुन्छ । विलेम डाफो र टम हिडलस्टन जस्ता चर्चित कलाकारहरूको अभिनय रहने यस चलचित्रले सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिमध्ये एक तेञ्जिङ नोर्गे शेर्पाको प्रेरणादायक कथालाई प्रस्तुत गर्ने छ । यो चलचित्र प्रख्यात निर्देशक जेनिफर पेडमको  निर्देशनमा तथा ओस्कार विजेता सि–साँ फिल्मसको निर्माणमा तयार हुँदैछ । याे चलचित्र काठमाडौँ उपत्यकाको पाटन दरबार, जगडोन कपन, बुढानिलकण्ठ, जर्सिङपौवा, बेलायती दूतावास, मुस्ताङको जोमसोम र खुम्जुङलगायतमा छायाङ्कन गरिएको छ ।