• २३ जेठ २०८२, शुक्रबार

कोशी राजमार्गको पीडा : पूर्वी पहाडमा लेउतीले दिएको दुःख

blog

कोशी राजमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, फेदीमा लेउतीखोलामा आएको बाढीले बगाएको सडक तथा पारिको पहिरोले थुपारेको माटो ।

कविराज घिमिरे 

हिले, जेठ २१ गते । यो वर्षको मनसुन सुरु भएसँगै कोशी राजमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, फेदीमा लेउती खोलामा आएको बाढीले करिब एक सय मिटर सडक बगायो । सडक डिभिजन कार्यालय धनकुटाको प्रारम्भिक अनुमान अनुसार बाढीले सोही स्थानमा मात्र करिब साढे चार करोड रुपियाँ बराबरको क्षति पु-याएको छ । 

पाँच वर्षअघि २०७७ सालमा मात्र पनि सोही स्थानमा लेउतीले सडक बगाएपछि करिब ७० मिटर सडक चार वर्षअघि मात्र दुई करोड चार लाख रुपियाँ लागतमा निर्माण भएको थियो । त्योबेला प्रविधिको उच्चतम प्रयोग गरी मेसिनरी तथा ग्याबिन वालले रोकथाम गरी सडक निर्माण गरिएको भए पनि यो वर्षको मनसुनको सुरुवातमै भत्कियो । सोही स्थानमा २०६० सालयता मात्र चार पटक बाढीले सडक भत्काइसकेको छ । यो स्थानभन्दा करिब पाँच सय मिटरको दूरीमा गर्जुवा पर्छ । सो स्थानमा समेत बर्सेनि सडकमा क्षति पु¥याउने र सडक अवरुद्ध हुने गरेको छ । त्यस्तै फलामेटार र लाबरबोटे  पनि सधैँको टाउको दुखाइ भएका छन् । यी स्थानमा पटक पटक सडक भत्कँदा बर्खाका अधिकांश समय सडक अवरुद्ध हुने तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय सन्तोष राई बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “सिम्सुवा गोलाइदेखि मूलघाटसम्म धेरै जोखिम छ, अलि ठुलो पानी पर्नेबित्तिकै यहाँको यात्रा जोखिमपूर्ण हुने गरेको छ ।” 

फलामेटार पछिल्लो समय जोखिमपूर्ण भएको स्थान हो । त्यस्तै लाबरबोटे पनि पटक पटक भत्किइरहने स्थानका रूपमा रहेको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । बर्खा लागेपछि यी स्थानमा लेउतीखोलाले कतिखेर सडकमा असर गर्छ थाहा हुँदैन । सडक डिभिजन कार्यलय धनकुटाका प्रमुख सिइडी रामकुमार देवका अनुसार साँगुरीगढी गाउँपालिका–६ देखि सोही पालिकाका वडा नम्बर २ स्थित लाबरबोटेसम्म साढे छ किलोमिटर सडक लेउतीखोलाका कारण अत्यन्तै जोखिमपूर्ण छ । सडकको जोखिम हटाउन बर्सेनि करोडौँ रुपियाँ यो स्थानमा लगानी गर्ने गरिएको छ तर पनि दिगो व्यवस्थापन हुन सकेको छैन । 

उत्खनन र नयाँ सडक चुनौती 

यो राजमार्गको यो स्थान सुरक्षित बनाउन लेउतीखोला आफैँमा एक समस्याका रूपमा रहेको सडक डिभिजन कार्यालय धनकुटाको भनाइ छ । सिम्सुवा गोलाइदेखि मूलघाटसम्म करिब सात किलोमिटर कोशी राजमार्ग र लेउती समानान्तर भएर रहेका छन् । फेदीमा पटक पटक सडक भत्किनुका कारण लेउतीखोलापारि रहेको पहिरो हो । खोलापारि झरेको पहिरोले खोलालाई सडकतर्फ धकेल्ने गरेको छ । जसको असर कोशी राजमार्गलाई पर्ने गरेको छ । यो स्थानमा दुई दशकअघिबाट झरेको पहिरो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । पहिरो नियन्त्रण गरी खोलालाई पुरानै धारमा फर्काए सडकमा बर्सेनि क्षति नहुने प्राविधिकको भनाइ छ तर अहिलेसम्म सो स्थानको सडक मर्मतमा पटक पटक गरी करोडौँ रुपियाँ खर्चिए पनि पहिरो नियन्त्रणतर्फ कसैको चासो गएको छैन । गर्जुवाखोलामा पनि पहिरोकै समस्याले पटक पटक दुःख दिने गरेको स्थानीय बताउँछन् । मूल क्षेत्रबाट लेदो माटोसहित आएको बाढीले बढी असर गर्ने गरेको अमृता राई बताउनुहुन्छ ।

सो स्थान धनकुटाको सबैभन्दा बढी नदीजन्य पदार्थ उन्खनन हुने स्थान हो ।  जथाभाबी नदी उत्खननको असर सडकमा पर्ने गरेको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । सडकतर्फ उत्खनन गर्दा बर्खामा बाढी सडकतर्फ सोझिने र सडकलाई असर गर्ने सडक डिभिजन कार्यालय धनकुटा सूचना अधिकारी इन्जिनियर सन्तोष साह बताउनुहुन्छ । योबाहेक निर्माणाधीन तथा नयाँ सडकको माटो कटान गरी लेउतीको मूल क्षेत्रमा फालिँदा कोशी राजमार्गलाई जोखिम बढाएको हो ।  अहिले भेडेटार रविराँके सडक निर्माणाधीन छ । त्यो सडक निर्माण गर्दा, कटिङ गर्दा फालिएको माटो लेउतीखोलामै आइपुग्छ जुन अहिलेको सबैभन्दा ठुलो समस्या हो । योबाहेक अन्य नयाँ सडकबाट  बगेर आएको माटो मुख्य समस्याका रूपमा रहेको इन्जिनियर राईको भनाइ छ । यी सब कुरालाई व्यवस्थित गर्न सके जोखिम कम हुने राई जोड दिनुहुन्छ । 

यता पटक पटक सडक मर्मतभन्दा पनि खोलाले सडकमा पु-याउने असरको दिगो व्यवस्थापन गर्नुपर्ने जानकार को भनाइ छ । निर्माण व्यवसायी यज्ञ राई सडक मर्मतभन्दा पनि खोलो व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुहुन्छ । भूगोल अनुसारको खोलोलाई व्यवस्थापन गर्न सके शतप्रतिशत निराकरण हुन नसके पनि ८० प्रतिशत जोखिम कम हुने बताउनुहुन्छ । 

समस्या धनकुटामा, दुःख पूर्वी पहाडमा 

कोशी राजमार्गमा समस्या धनकुटा क्षेत्रमा देखिए पनि असर भने कोशीका सम्पूर्ण पहाडी जिल्लालाई पर्ने गरेको छ । कोशी राजमार्ग हुँदै धनकुटासहित भोजपुर, सङ्खुवासभा, तेह्रथुम खोटाङसम्मको 

सवारीसाधन आवतजावत गर्ने गरेका छन् । त्यस्तै कोशी राजमार्गको लाबरबोटेबाट तमोर कोरिडोर छुट्छ । कोरिडोर हुँदै ताप्लेजुङ र पाँचथर पुगिन्छ । यो स्थानमा सडक भत्कँदा यी सात जिल्लालाई असर गर्ने गरेको धनकुटाका श्रीराम रायमाझी बताउनुहुन्छ । अवरुद्ध हुँदा यी सबै जिल्लालाई असर पुग्ने भएकाले दिगो व्यवस्थापन गर्नुपर्ने आवाज उठ्ने गरेको छ ।