• २३ जेठ २०८२, शुक्रबार

मदन भण्डारी राजमार्ग : गुल्मीको आठ किलोमिटर सडक कालोपत्रे

blog

गुल्मीको रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सडक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, जेठ २१ गते ।
गुल्मीमा मदन भण्डारी राजमार्गको पहिलो खण्डअन्तर्गत आठ किलोमिटर सडक कालोपत्रे भएको छ । रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो ।

मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नती र कालोपत्रेको काम हुँदैछन् । मदनभण्डारी राजमार्गअन्तर्गत जिल्लाको रुरु क्षेत्र र छत्रकोट गाउँपालिका तथा मदाने गाउँपालिका क्षेत्रमा सडक निर्माणको काम धमाधम भइरहेको छ । समान्तर एलाईट जेभीका इन्जिीनियर राकेश कुमार पाश्वानले अप्ठ्याराहरु धेरै भए पनि कामको तीव्रता नरोकिएको बताउनुभयो । वर्षात र जग्गाका समस्याहरुबिच सबै निकायको समन्वयमा सम्झौताभित्रै काम सक्ने गरी अगाडि बढेको पाश्वानको भनाइ छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका अनुसार पहिलो खण्ड रिडी–तम्घासअन्तर्गत रुरु क्षेत्र गाउँपालिकाको रिडीदेखि छत्रकोट गाउँपालिको भेडुकासम्मको २५ किलोमिटर सडक पर्छ । यो खण्डको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगती भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीको सूचना अधिकारी इन्जिनीयर हुमानाथ पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार पहिलो खण्डमा करिव १९ किलोमिटर कालोपत्रे र ढलानको काम हुनेछ । बलेटक्सार, विरबास र पानी ट्याङ्की बजार क्षेत्रमा केही ठाउँ बाहेकका स्थानमा काम हुने बताउनुभयो । पहिलो खण्डपछिको १७ सय मिटरको कामको पनि प्रक्रिया अगाडि बढेको पौडेलले बताउनुभयो । २०७९ फागुन २६ मा समानन्तर–एलाइट जेभीले एक अर्ब ५० करोडको लागतमा सडक कालोपत्रेको सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीको सूचना अधिकारी इन्जिनीयर हुमानाथ पौडेलले जानकारी दिनुभयो ।

यो खण्डको काम २०८२ फागुन २६ मा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार कटिङ, नाली, स्टकचर, ग्राभेल र कालोपत्रे गरिनेछ । कालोपत्रे सुरु भएपछि सडक निर्माणका कारण सहज यात्रा गर्न नपाएका स्थानीयदेखि काममा सहजीकरण गरिरहेका स्थानीय सरकारलाई समेत खुसी मिलेको छ ।

यता गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छिसम्मको ३१.८ किलोमिटर सडक मध्ये सौतामारेसम्मको १६ किलोमिटरको काम भने अलपत्र परेको छ । यो सडक निर्माणको लागि श्रेष्ठ सक्षम जेभीले ०७९ कात्तिक ६ गतेदेखि सम्झौता गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । सूचना अधिकारी पौडेलका अनुसार एक अर्ब ४५ करोड ३२ लाख ९९ हजार नौ सय रुपियाँमा सडक निर्माणको सम्झौता भएपनि अहिलेसम्म २६ प्रतिशत भौतिक र २२.२० प्रतिशत बित्तिय प्रगती भएको छ । काम अलपत्र पारेर जोखिम बढेपछि स्थानीय आक्रोशित छन् । कामको प्रगति नदेखिएपछि बैंक ग्यारेण्टी तान्ने तयारी भइरहेको पौडेलले बताउनुभयो ।