• २३ जेठ २०८२, शुक्रबार

आज तनहुँका सबै पालिकामा सार्वजानिक बिदा

blog

बन्दीपुर गाउँपालिकाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ २१ गते ।
तनहुँका सबै पालिकाले बुधबार आज सार्वजानिक बिदा दिएको छ । दस वटै पालिकाले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा आज सार्वजानिक बिदा दिएको हो  ।

नगरपालिकाहरु व्यास, भानु, शुक्ला र भीमाद गरी चार र गाउँपालिकाहरु म्याग्दे, ऋषिङ, घिरिङ, देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले विज्ञप्ति जारी गर्दै सार्वजानिक बिदा घोषणा गरेको हो । पालिकाअन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक) र वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सबै समुदायहरूले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रमहरू सञ्चालन गरी सामाजिक एकता सन्देश दिन बिदा दिइएको सूचनामा उल्लेख छ । संयुक्त राजनीतिक दलित सङ्र्ष समितिले बिदा दिनुपर्ने माग राखेको थियो । व्यासमा प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, भानुमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, भिमादमा नगर प्रमुख दधिराज घिमिरे, शुक्लागण्डकीमा नगर प्रमुख कृष्णराज पण्डित, देवघाटका अध्यक्ष तीलबहादुर थापा, आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान, बन्दीपुरका अध्यक्ष सुरेन्द्रबहादुर थापा, म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, ऋषिङका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङका अध्यक्ष होमबहादुर थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बिदा दिइएको उल्लेख गरिएको छ ।

संयुक्त दलित सङ्घर्ष समितिले तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला सभाहलमा आज सचेतना सभाको आयोजना गर्ने निर्णय भएको समितिका  संयोजक डोबाटे विश्कर्माले बताउनुभयो । जिल्लाका सबै पालिकाले बिदा दिएको र समितिको कार्यक्रमलाई मद्दत गर्ने प्रतिबद्धता व्यक्त भएको उहाँले जानकारी दिनुभयो । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरिन्छ ।

जातीय छुवाछूत र भेदभावको अन्त्य गरी आर्थिक समानता, समृद्धि, र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामुलक समृद्ध समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।