• २३ जेठ २०८२, शुक्रबार

पुलको लम्बाइ बढाउन दबाब

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, जेठ २१ गते । बाँकेको हुलाकी सडक अन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको लम्बाइ बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् । सिधनियाघाटमा सात मिटर लामो नयाँ पुल निर्माण भइरहेकोमा लम्बाइ एक हजार १४० मिटर नगरेसम्म डुबान तथा बाढीको समस्या समाधान नहुने भन्दै राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले लम्बाइ बढाउन सरकारसँग माग गरेका हुन् । 

प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बाँकेका तीन वटै गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, हुलाकी सडक परियोजनाका कर्मचारी, जिल्लाका प्रहरी र प्रशासन प्रमुखलगायत स्थानीयको सहभागितामा भएको सर्वपक्षीय भेलाले सो पुलको लम्बाइ बढाउनुपर्ने मागसहितको निर्णय गरेर केन्द्रमा पठाइएको बताउनुभयो । 

सर्वपक्षीय भेलामा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनीषासिंह थारू र डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापालगायतका जनप्रतिनिधि र स्थानीयले पुलको लम्बाइ वृद्धि नगरिए समस्या समाधान नहुने प्रस्ट पार्नुभयो । उहाँहरूले पुलको लम्बाइ वृद्धि नगरिए स्थानीयले तटबन्धलगायत अन्य काम अगाडि बढाउन नदिने चेतावनी दिनुभयो ।  हुलाकी सडक आयोजना कार्यालय बाँकेका योजना प्रमुख लीलाबहादुर भण्डारी र निर्माण व्यवसायी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीका प्रमुख धीरेन्द्र दाहालले हाल निर्माण भइरहेको पुलको अवस्थाबारे जानकारी गराउँदै लम्बाइ बढाउने कार्य केन्द्रबाट मात्रै हुन सक्ने बताउनुभयो । 

राप्ती नदीको सिधनियाघाटमा रहेको पुरानो पुल साँघुरो र सानो छ । नदीको कटान र डुबान क्षेत्र बढ्दै गएकोले त्यहाँ सात सय मिटर लामो नयाँ पुल निर्माण भइरहेको छ । सम्झौता भएको साढे चार वर्षमा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले सो पुलको निर्माणलाई तीव्रता दिएको छ । २०८४ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०७९ माघमा पुलको सम्झौता भएको थियो ।