कालीकोट समाचारदाता
कालीकोट, जेठ २१ गते । विद्यालय पढ्दा सामान्य देउडाबाट गायन सुरु गर्नुभएकी खाँडाचक्र नगरपालिका–११ की शान्तीकुमारी शाहीलाई लोकदेउडा, लोकदोहोरी हुँदै भजनसम्म पुग्छु भन्ने आफैँलाई लागेको थिएन ।
२०७४ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएकी उहाँले सुरुमा चल्तीकला नक्कले, जति हेर्यो त्यति राम्रो गीत गाएपछि पछाडि फर्केर हेर्नु परेको छैन । शान्तिका लाली पाउडर घसेर, गयो जोवन माइतै बसेर, कर्णालीका छालै छाल, भोटे बाइगो मुगु, कोही हुम्लाकी कोही जुम्लाकी, कोही माथि मुगुकी नामका देउडा गीत कर्णाली प्रदेशमा अत्यधिक रुचाइएका गीत हुन् ।
पछिल्लो समय चर्चामा रहेको शान्तिको स्वरबद्ध हरिभजन नामक भजन गीतबाट उहाँले राम्रो प्रतिक्रिया पाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “सुदूरपश्चिम क्षेत्रको भाकालाई समेटेर गीतमा देउडाका टुक्का मिसाउँदा चाख लाग्दो भएको छ ।” शान्तिका गीतमा हिमालको स्वच्छ हावा र झरनाको पानी बगेको अनुभूति हुन्छ । शान्तिले आगामी दिनमा आफूले हिमालको कथा सुनाउन खोजेको बताउनुभयो । जन्मघर कालीकोट भए पनि कर्मघर सुदूरपश्चिमको बैतडी हुँदा दुवै प्रदेशका खास खाँटी स्थानीय भाषालाई आगामी दिनमा गीतमार्फत सार्वजनिक गर्ने उहाँको योजना छ ।