काठमाडौँ, जेठ २१ गते । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र मधेसशप्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । रासस